अदालतले ‘सोधपुछका लागि’ पत्रकारलाई बोलाउनु प्रेस स्वतन्त्रता विरोधी कामः महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले सोधपुछका लागि भन्दै पत्रकारलाई सर्वोच्च अदालतले बोलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार विज्ञप्ति निकालेर महासंघले समाचारको विषयमा नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृत र इमेज खबर डटकमका सम्पादक राजन कुइँकेललाई सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै बोलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघले संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित सबैसँग आग्रह गरेको छ ।
‘प्रकाशित÷प्रसारित समाचारका विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानूनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ । त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो ।’ महासंका महासचिव रोसन पुरीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबीच भेट भएको भन्ने विषयमा प्रकाशित/प्रसारित समाचारका विषयमा सोधपुछ गर्न भन्दै सर्वोच्चले बोलाएको सम्पादकद्वयले बताएका छन् । सर्वाेच्च अदालतले मंगलबार नै विज्ञप्ति निकालेर ती खबरहरुमा सत्यता नभएको जनाएको छ ।










