पटक पटकको संसद विघटनलाई सामान्य रुपमा लिनु हुँदैन : पूर्वसभामुखहरू

काठमाडौं । पूर्वसभामुखहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कमदलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएकाे बैठकमा सहभागी पूर्वसभामुखहरूले यसअघि बिनाकारण र कानुनी आधारमा प्रतिनिधि विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि सरकार गठनको सम्भावना बाँकी हुँदाहुँदै असंवैधानिक हिसाबले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको र राष्ट्रपतिले चुपचाप त्यसमा साथ दिएकोप्रति आपत्ति जनाउँदै यी घटनाहरू गम्भीर भएकाले सामान्य रुपमा मात्र नहेर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका हुन् ।

छलफलमा सहभागी पूर्वसभामुख ओनसरी घर्तीले जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक र जनताप्रति उत्तरदायी कदम होइन भन्ने धारणा सबैको रहेको जानकारी दिइन् ।

प्रतिनिधिसभा विघटन गर्ने यसपटकको निर्णय पनि असंवैधानिक रहेको पूर्वसभामुखहरुको भनाइ छ । ‘सरकारले जनप्रतिनिधिको सर्वोच्च थलोलाई पटकपटक, विघटन गरेर असंवैधानिक कदम चालिरहेको र त्यसलाई राष्ट्रपतिले चुपचाप साथ दिइरहेकाले यो सामान्य परिघटनामात्र होइन,’ पूर्वसभामुख रामचन्द्र पौडेलले भने, ‘यस्तो प्रवृत्तिलाई परास्त गर्न सबै लाग्नुपर्ने बेला आएको छ ।’

राज्यको कार्यकारीले व्यवस्थापिकालाई कार्यकारीकै एक शाखाजस्तो व्यवहार गरेको र नागरिकको सर्वोच्च थलोको पटक पटक मानमर्दन गरेको पौडेलको भनाइ छ । उनीहरुले यसबारेमा थप छलफल र परामर्श गर्न पनि सभामुख सापकोटालाई सुझाव दिएका छन् ।

बैठकमा पूर्वसभामुख पौडल र घर्तीसँगै कृष्णबहादुर महरा र तारानाथ रानाभाट उपस्थित थिए । पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र दमननाथ ढुंगाना भने बैठकमा उपस्थित थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =