नागरिकतासम्बन्धीअध्यादेश कुत्सित र दूषित मनसायबाट प्रेरित : विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कुत्सित र दूषित मनसायबाट प्रेरित भएको जनाएको छ ।

सोमबार विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा नागरिकता अध्यादेशसम्बन्धी पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उक्त अध्यादेश ल्याइनु कुत्सित र दूषित मनसायबाट प्रेरित भएको उल्लेख गरिएको छ ।

‘नागरिकताजस्तो अत्यन्तै गम्भीर विषयलाई संसद् छलेर सौदाबाजीका रूपमा अध्यादेशबाट राजनीतिक रूपमा संवेदनशील समयमा ल्याइनु पूर्णतः कुत्सित र दूषित मनसायबाट प्रेरित देखिन्छ’, विज्ञप्तिमा भनिएको छ‚ ‘जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकले नागरिकता प्राप्त गरेको मितिपछि पाएको सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नु न्यायसङ्गत हुन्छ । यो नेपालको संविधान २०७२ अनुरूप पनि छ, जसको विवेकशील साझा पार्टी स्वागत गर्दछ । तर पुरुष र महिलाका बीच नागरिकताको विषयलाई विभेदकारी बनाउन मिल्दैन । पुरुष र महिला दुवै समान अधिकारको हकदार छन् । अध्यादेश त्यसमा चुकेको छ ।’

विज्ञप्तिमा केही बोल्नैपर्ने विषयमा मौन रहेको‚ गलत प्रक्रिया र गलत ध्येयबाट ल्याइएको भए पनि अध्यादेशले केही महत्त्वपूर्ण विषयलाई भने सकारात्मक रूपमा सम्बोधन गरेको उल्लेख गरिएको छ । तर केही बुँदा सकारात्मक भएपनि पूर्ण रुपमा उल्लेख नगरेको विवेकशील साझाले आरोप लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + two =