कोरोना नियन्त्रण नभई निष्पक्ष चुनाव हुँदैन : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्नुपूर्व कोरोना महामारी नियन्त्रण गर्नुपर्ने बताएको छ । आज (आइतबार) बसेको राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने बताएको हो ।
बैठकले जनताको अभिमत र शक्तिबाटै राजनीतिक कमजोरी र विकृति समाधान गर्न सकिने भएता पनि कोरोना नियन्त्रण नभई गरिएको निर्वाचन निष्पक्ष र स्वतन्त्र नहुने निष्कर्ष निकालेको हो ।
त्यस्तै १२ बुँदे सहमतिको आडमा खडा गर्न खोजिएको राजनीतिक प्रणाली, हिन्दूराष्ट्र र राजसंस्थालाई षड्यन्त्रपूर्वक हटाइएको आरोप लगाउँदै त्यस्ता परिवर्तनका संवाहकहरूको सत्तालिप्सा आमजनताप्रतिको उपेक्षा भएको दाबी गरेको छ ।
साथै नेपाली जनताको अभिमत र शक्तिबाट ती कमजोरी र विकृतिको समाधान खोज्न सकिन्छ भन्ने विश्वासका कारण राप्रपा सिद्धान्ततः चुनावको पक्षमा रहेको पार्टीले जनाएको छ ।
राप्रपाले चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न समेत सरकारसँग माग गरेको छ ।








