विपक्षी दल भोलि मात्रै सर्वोच्च जाने, सांसद संख्या नघटेको दाबी

काठमाडौं । विपक्षी दल भोलि (सोमबार) मात्रै सर्वोच्च जाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, विपक्षी एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरु भोलि स—शरीर नै उपस्थित भएर रिट बुझाउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए । नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले भने— ‘सके त आजै जाने भनेका थियौँ तर, समय अपुग भयो । भोलि फर्स्ट आवरमै पुग्छौँ ।’

परमादेशमार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा जाने तयारीमा रहेपनि विपक्षी एमालेका सांसदहरुको नजुटेको र अन्य तयारी पनि नपुगेकाले भोलि बिहान १० बजे मात्रै सर्वोच्च जाने निर्णय विपक्ष दलले गरेको हो ।
अध्यक्ष प्रचण्डले विपक्षी एमालेका सांसद संख्या नघटेको दाबी गर्दै सांसद संख्या अझ बढ्ने बताए ।

राष्ट्रपति भण्डारीले गत जेठ ६ गते ‘नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार बनाउनु’ भनी २१ घण्टाको समयसीमा तोकेकी थिइन् । तत्पश्चात् निर्धारित समयभित्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको समर्थनमा प्रधानमन्त्री पदको दाबी गरेका थिए । तर, सँगै ओलीसमेतको दाबी परेपछि राष्ट्रपतिले भण्डारीले दुई नेताको दाबी परेको र दाबी जाँचबुझ गर्नुपर्ने भएकाले केही समय लाग्ने बताएकी थिइन् । तर, त्यसको केही समय नबित्दै राष्ट्रपति भण्डारीले ओलीकै सिफारिसमा संसद् विघटन गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले यसअघि पनि संसद् विघटन गरेका थिए । ०७७ पुस ७ गते विघटित संसद् सर्वोच्च अदालतले दुई महिनापछि फागुन ११ गते पुनःस्थापना भएको फैसला गरेको थियो । तर, ओलीले पुनः विघटन गरेका हुन् । यता कानुनवेत्ताहरुले भने एकचोटी विघटन भएर पुनःस्थापना भइसकेको संसद् निःसर्त पुनःस्थापना हुने बताउँछन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले मकालु खबरसँग भने— ‘राजनीतिक फण्डा त कस्तो चल्छ थाहा छैन, कानुनी आधारबाट हेर्ने हो भने चाहिँ संसद् निःसर्त पुनःस्थापना हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *