‘राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई षड्यन्त्रमा फसाए’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई षड्यन्त्रमा फसाएको टिप्पणी गरेका छन् । आइतबार कांग्रेस संसदीय दलको बैठक कक्षबाहिर पत्रकारहरुसँगको सवालजवाफका क्रममा गर्दे नेता सिंहले भने— ‘राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई षड्यन्त्रमा फसाए ।’

नेता सिंहले शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा गरेको दाबीबारे राष्ट्रपतिले जाँचबुझ नै नगरी आफ्नो मनपरी कदम चालेको भन्दै असन्तुष्टिसमेत जनाए । भने— ‘त्यहाँ के, कति र कसरी दाबी पुग्यो अथवा पुगेन, प्रमाण के पुगेन त्यो चाहिँ नहेर्ने/नभन्ने अनि मध्यरातमा अनुमानै अनुमानमा देशलाई षड्यन्त्रमा फसाउने ? हामी विपक्षी दलका बहुमत संख्याका सांसदहरुले बकैदा हस्ताक्षर नै गरेर गएका हौँ ।’

अलोकतान्त्रिक र असंवैधानिक प्रधानमन्त्रीको कदमविरुद्ध प्रमुख प्रतिपक्षी भएको नाताले कांग्रेसले संघर्ष गर्ने सिंहको भनाइ छ । ‘यस्तो खाले असंवैधानिक कदमविरुद्ध कांग्रेस दह्रोखह्रोका साथ उभिन्छ । कांग्रेसले यसअघि विघटन गरिँदा पनि संघर्ष गरेकै हो,’ नेता सिंहले भनेका छन् ।

राष्ट्रपति भण्डारीले गत जेठ ६ गते ‘नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार बनाउनु’ भनी २१ घण्टाको समयसीमा तोकेकी थिइन् । तत्पश्चात् निर्धारित समयभित्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको समर्थनमा प्रधानमन्त्री पदको दाबी गरेका थिए । तर, सँगै ओलीसमेतको दाबी परेपछि राष्ट्रपतिले भण्डारीले दुई नेताको दाबी परेको र दाबी जाँचबुझ गर्नुपर्ने भएकाले केही समय लाग्ने बताएकी थिइन् । तर, त्यसको केही समय नबित्दै राष्ट्रपति भण्डारीले ओलीकै सिफारिसमा संसद् विघटन गरेकी थिइन् ।

त्यसपछि नेपाली कांग्रससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी (डा.बाबुराम भट्टराई—उपेन्द्र यादव पक्ष), विपक्षी एमाले र राष्ट्रिय जनमोर्चालगायतका विपक्षी दलहरु एकजुट भएका छन् । उनीहरु विघटनविरुद्ध सर्वोच्च जाँदैछन् ।

प्रधानमन्त्री ओलीले यसअघि पनि संसद् विघटन गरेका थिए । ०७७ पुस ७ गते विघटित संसद् सर्वोच्च अदालतले दुई महिनापछि फागुन ११ गते पुनःस्थापना भएको फैसला गरेको थियो । तर, ओलीले पुनः विघटन गरेका हुन् । यता कानुनवेत्ताहरुले भने एकचोटी विघटन भएर पुनःस्थापना भइसकेको संसद् निःसर्त पुनःस्थापना हुने बताउँछन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले मकालु खबरसँग भने— ‘राजनीतिक फण्डा त कस्तो चल्छ थाहा छैन, कानुनी आधारबाट हेर्ने हो भने चाहिँ संसद् निःसर्त पुनःस्थापना हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *