योगेशको सल्लाह– ‘धैर्य गरौँ र वार्तामार्फत समाधान खोजौँ’

काठमाडौं । विपक्षी एमाले नेता योगेशकुमार भट्टराईले ‘डबल’ एमालेका नेतृत्वद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई धैर्य गरेर सम्वादमार्फत पार्टीको आन्तरिक समस्या सुल्झाउन आग्रह गरेका छन् । आइतबार आफ्नो आधिकारिक फेसबूकमा एक स्थिति राख्दै नेता भट्टराईले भनेका छन्— ‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्याएको छैन र पुर्याउँदैन पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही नै हो । सबैले आफ्नो विगतलाई हेरौँ । धैर्य गरौँ, सम्वाद गरौँ ।’
यसअघि शनिवार बसेको सत्तापक्षीय एमालेको स्थायी कमिटी बैठकले विपक्षी एमालेका ११ नेताहरुलाई स्पष्टीकरण सोधेको छ । राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापालाई हराउन भूमिका खेलेको भन्दै नेता नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीलगायतका नेतालाई स्पष्टीकरण सोधिएको हो ।
यसभन्दा अगाडि खासगरी नेकपाबाट एमाले बन्दादेखियता एमालेको आन्तरिक जीवनमा आरोप—प्रत्यारोप र कारबाही गरागरमै सकिएको छ । नेता भट्टराईले भने आफू सधैं पार्टी एकताको पक्षमै रहेको दोहोर्याउँदै आएका छन् ।








