‘संसद् विघटनविरुद्ध कानुनी उपचार खोज्छौँ’

काठमाडौं । विपक्षी दलहरुले दोस्रो पटक भएको संसद् विघटनविरुद्ध कानुनी उपचार खोज्ने भएका छन् । त्यसका लागि शनिवार (आज) बिहान ११ बजेबाट संयुक्त बैठक जारी छ । बैठकस्थलबाट कांग्रेस नेतृ पुष्पा भुसालले भनिन्— ‘कानुनी उपचार खोज्ने कुरा त छँदैछ । त्यसका लागि कसरी अगाडि जाने भन्नेबारे रणनीतिक छलफल हुँदैछ । सँगै त्यसविरुद्ध राजनीतिक रुपमा कसरी अगाडि जान सकिन्छ भनेर पनि छलफल भइरहेको छ ।’

यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको पुस ५ गते पनि संसद् विघटन गरेका थिए । तर, पछि सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना गरिदिएको संसद् पुनः दोस्रो पटक विघटन गरेपछि विपक्षी दलहरु एकजुट भएका छन् । यो प्रतिगमन भाग— २ भएको टिप्पणी गर्दै नेताहरुले कानुनी र राजनीतिक उपचार खोज्ने बताएका हुन् । यता माओवादी केन्द्रका नेता वर्षमान पुनले मकालु खबरसँग भने— ‘प्रतिगमन दोहोरिएको छ । यसविरुद्ध लाग्नुपर्ने त छँदै नै छ । योसँगै अब यतिकै छलफल मात्रै गरेर बस्नेभन्दा चाँडै राजनीतिक तथा कानुनी उपचार खोज्नेतिर लाग्नेछौँ ।’

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार बनाउनु भनी २१ घण्टे समय दिएकी थिइन् । सोही समयभित्र कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी गरेपनि प्रधानमन्त्री हुन सकेनन् । कारण, ओलीले पनि १५३ सांसदको समर्थनसहित प्रधानमन्त्री पदको दाबी गरेका थिए । त्यसपछि राष्ट्रपतिले केही समय लाग्ने बताएकी थिइन् । तर, त्यसको केही समय नबित्दै संसद् भङ्ग भएको सूचना शीतल निवासबाट निस्क्यो ।

‘ओली लोकतन्त्र सुहाउँदो नेता होइनन्,’ विपक्षी एमाले नेतृ अष्टलक्ष्मी शाक्यले मकालु खबरसँग भनिन्— ‘मैले पहिल्यैदेखि भन्दै आएको छु । अब त सुध्रिन्छन् कि भन्यो कहिल्यै नसुध्रिने । के गर्ने खै ? अब फेरि पनि प्रतिगमनविरुद्ध एक त हुनैपर्यो । अदालत जाने कुरा हुँदैछ । अब चाँडै सबै दलहरु मिलेर जान्छौँ ।’

ओली प्रतिगमनको सच्याइ अनिवार्य रहेको निष्कर्षसहित विपक्षी दलहरु एकजुट भएका छन् । उनीहरु कुनै पनि हालतमा संसद् पुनःस्थापना हुनुपर्ने अडानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *