संशोधित शपथको ढाँचाबाट हटाइयो ‘प्रतिज्ञा’ शब्द

काठमाडौं । अब सार्वजनिक पद धारण गरेका व्यक्तिले पद तथा गोपनियताको शपथग्रहण गर्दा ‘प्रतिज्ञा’ शब्द भन्नु नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शपथसम्बन्धी अध्यादेश जारी गरी शपथको संशोधित ढाँचाबाट ‘प्रतिज्ञा’ शब्द हटाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३१ गते लिएको शपथमा ‘प्रतिज्ञा’ शब्द उच्चारण नगरेपछि सरकारले शपथसम्बन्धी अध्यादेश, २०७८ जारी गरेर ‘प्रतिज्ञा’ शब्द हटाएको हो ।

यसअघिको शपथको ढाँचामा  ‘…कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह नराखी, खराब भावना नलिई इमानदारीका साथ पालना गर्ने प्रतिज्ञा गर्दछु’ थियो भने अहिलेको संशोधित ढाँचामा  ‘…कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह नराखी, खराब भावना नलिई इमानदारीका साथ पालना गर्नेछु’ मात्र राखिएको छ ।

संशोधित शपथको ढाँचामा  ‘ईश्वर’ वा ‘देश र जनता’का नाममा शपथ लिन सकिने व्यवस्था गरिएको छ । तर, शपथ लिने व्यक्तिले ‘ईश्वर’ अथवा ‘देश र जनता’ कसको नाममा शपथ लिने हो त्यसको जानकारी शपथअगावै शपथ गराउने पदाधिकारीलाई दिनुपर्ने उल्लेख छ ।

नयाँ अध्यादेशले तोकेको शपथको ढाँचा सार्वजनिक पद धारण गरेका सबै पदाधिकारीका लागि हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 12 =