हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपतिलाई पत्र

काठमाडौं । विपक्षी एमालेका सांसद जयकुमार राईले आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भन्दै राष्ट्रपतिलाई चिठी पठाएका छन् ।

सुनसरी क्षेत्र नं. १ बाट विजयी सांसद राईले आफू सूर्य चिन्हबाहक सांसद भएको र पार्टी विभाजनसँग जोडिएका कुनै पनि गतिविधिमा संलग्नता नरहने प्रष्ट पारेका छन् । मकालु खबरसँग सांसद राईले भने— ‘म विगतदेखि नै पार्टी विभाजन गर्ने सन्दर्भमा लागेको छैन । मेरो चाहना यो पनि होइन । यस्तो कामले पार्टी विभाजन हुन्छ । मैले पहिल्यैदेखि पार्टीका नेताहरुलाई पनि प्रष्टै भन्दै आएको हुँ ।’

एमालेमा विवाद चुलिँदा सांसद राई (नेपाल—खनाल) पक्षमा खुलेका थिए । तर, पछिल्लो समयमा उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै सत्तासिन एमालेतिर झुकाव राखेका हुन् ।

राष्ट्रपतिलाई पठाएको पत्रमा राईले भनेका छन्— ‘सूर्य चिन्ह लिएर निर्वाचित संसद् म जयकुमार राई नेकपा एमाले विभाजनको पक्षमा छैन भन्ने कुरा धेरै अगाडिदेखि सार्वजानिक गर्दै आएको छु । आज फेरि नयाँ सरकार गठन गर्न हस्ताक्षर संकलन भैरहेको जानकारीमा आएको हुँदा कहीँकतै यो प्रयोजनको लागि हस्ताक्षर नगरेको पार्टीका नेता तथा कार्यकर्तालाई जानकारी गराउन चाहन्छु ।’

यसअघि विपक्षी एमालेकै नेताहरु सुरेन्द्र पाण्ड, योगेश भट्टराई, गोकर्ण विष्टलगायतले हस्ताक्षरको दुरुपयोग भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *