विपक्षी दललाई राष्ट्रपतिको जवाफ– ‘प्रधानमन्त्रीको पनि दाबी छ, हेरेर निर्णय लिन्छु’

काठमाडौं । वैकल्पिक सरकारको दाबी गर्दै शीतल निवास पुगेका विपक्षी दलहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले हेरेर निर्णय लिने जवाफ दिएकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीकोसमेत प्रधानमन्त्री पदमा दाबी परेपछि राष्ट्रपति भण्डारीले १४९ सांसदको  हस्ताक्षरसहित शीतल निवास पुगेका कांग्रेस सभापति देउवालाई यस्तो जवाफ दिएकी हुन् । ‘एमाले अध्यक्ष केपी ओलीले पनि दाबी गर्नुभएको छ । राम्रोसँग हेरेर आधार जाँचेर निर्णय लिइन्छ,’ राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै एक माओवादी सांसदले भने— ‘केही समय लाग्छ ।’

नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार बनाउन दाबी गर्न राष्ट्रपतिले शुक्रवार (आज) साँझ ५ बजेसम्मको लागि समयसीमा तोकी थिइन् । सोअनुसार बहुमत सदस्यको हस्ताक्षर लिएर शीतल निवास देउवा पुग्दा ओली ‘अलरेडी’ शीतल निवासमै थिए ।

ओलीले वैकल्पिक सरकारको दाबी गर्दै बिहीबार नै दाबी गरेको बालुवाटार स्रोतले मकालु खबरलाई बतायो । स्रोतले भन्यो— ‘उहाँले हिजै ३२ जना जसपा सांसदको समर्थनमा वैकल्पिक सरकारको दाबी गर्नुभएको थियो ।’

जसपाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद संख्या नै ३२ हो । जबकि, देउवालाई समर्थन गर्नेको संख्या १२ छ । देउवालाई समर्थन गरेकी सांसद रेनुकुमारी यादवले मकालु खबरसँग भनिन्— ‘हामीले कसरी ओलीलाई समर्थन गर्न सक्छौँ ? हामी त प्रतिगमनलाई साथ दिँदैनौँ । हामीले देउवाजीलाई समर्थन गरेका छौँ । ओलीको समर्थनमा हस्ताक्षर गरेका छैनौँ ।’

दुवै पक्षले बहुमत दाबी गरेकाले अब राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताएका छन् । ढकालकाअनुसार अध्ययनका लागि केही समय लाग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *