उच्च रक्तचाप, महामारी र जोगिने उपाय

खासगरी वयस्कमा उच्च रक्तचाप अर्थात ‘ब्लड प्रेसर हाइ’ को समस्या धेरै देखिन्छ । उच्च रक्तचापको मुख्य कारण त थाहा हुँदैन तर, बंशानुगत गुण पनि एउटा हुनसक्छ । यस्तै, धुमपान गर्ने अत्याधिक मोटो, धेरै काम नगर्ने, एकै ठाउँमा बसिरहने, ब्यायाम तथा योगलगायत कसरत नगर्ने व्यक्तिमा पनि उच्च रक्तचाप धेरै हुन्छ । नुन र गुलियो पदार्थ धेरै खाने व्यक्तिहरुमा पनि उच्च रक्तचापको जोखिम धेरै हुन सक्छ । यस्तै तनावका कारणले पनि हुन सक्छ । जाँडरक्सी धेरै खानेहरुमा पनि उच्च रक्तचापको जोखिम बढी हुन्छ । सगँसगै कुनै-कुनै औषधीले पनि हुनसक्छ । यस्ता कारणहरुले गर्दा उच्च रक्तचाप भएको पाइन्छ । तर, कहिलेकाहीँ केही पनि कारण बिना नै पनि मानिसहरुको रक्तचाप उच्च भएको पाइन्छ ।
उच्च रक्तचापलाई नियन्त्रणमा राख्न वा हुन नदिन के गर्ने ?
उच्च रक्तचापको नियन्त्रण एकदमै महत्वपुर्ण छ । ब्लड प्रेसर हाइ भयो भने यसले खतरा हुन्छ । यसले हर्ट अट्याक अर्थात हृदयघात हुनसक्छ । ब्रेन ह्यामरेज अर्थात मष्तिष्कघात हुन सक्छ । प्यारालाइसिस अर्थात् पक्षघात हुनसक्छ । आखाँमा भित्र असर पर्नसक्छ । मृगौलामा समस्या आउनसक्छ । समस्या मात्र होइन मृगौला काम नलाग्ने बनाइदिनसक्छ । यसले गर्दा रक्तचापलाई सन्तुलित राख्न अर्थात् रक्तचापलाई नियन्त्रणमा राख्न अति जरुरी छ ।
रक्तचाप नियन्त्रणमा राख्न कसैको पनि ब्लड प्रेसर सिसटोलिक १ सय ४० देखि माथि र डायस्टोलिक ९० भन्दा माथि भएमा उपचार शुरु गरिहाल्नुपर्छ । उपचार नगरे यसले मुटु, मस्तिष्क, मृगौला, आँखालगायत सबैतिर नराम्रो असर पर्छ । यो खतरनाक हुने भएकैले तत्काल नियन्त्रणका प्रयास थालिहाल्नपर्छ । उच्च रक्तचाप बढेमा चिकित्सकको सल्लाहमा औषधी लिएर खानुपर्छ ।
रक्तचाप उच्च भएको कसरी थाहा पाउने ?
उच्च रक्तचाप भएको यत्तिकै थाहा नहुन सक्छ । त्यसैले मानिसलाई थाहा नभएर पनि बसिराख्न सक्छ । त्यसैले रक्तचाप थाहा पाउने भनेको बेला बेलामा नाप्ने नै हो । यो नाप्न सहज छ । घरघरमै राख्न र नाप्न सकिने मेसिन हुन्छ । घरघरमा मेसिन भएन भने नजिकैको कुनै पनि स्वास्थ्य केन्द्रमा ब्लड प्रेसर नाप्न सकिन्छ । तर एकपल्ट मात्र नापेकै भरमा मात्र रक्तचाप भयो भनेर भन्न सकिन्न । केही समयको अन्तरालमा कम्तीमा पनि दुईपल्ट जाँच गर्नुपर्छ । त्यसपछि मात्र उच्च रक्तचाप हो भनेर भन्न सकिन्छ । यसको कुनै लक्षण नदेखिन पनि सक्छ । एकैपल्ट धेरै नराम्रो भएपछि मात्र पनि उच्च रक्तचाप थाहा हुन सक्छ । त्यसले समयसमयमा नापि राख्यो भने मात्र थाहा पाउन सकिन्छ । र बेलैमा थाहा पाएमा केही हुनुअघि नै थाहा पाइ रोकथाम गर्नतिर लाग्न सकिन्छ ।
उच्च रक्तचाप भैसकेको अवस्थामा कस्ता व्यायाम र व्यवहार गर्ने
कसैमा उच्च रक्तचाप छ भने सबैभन्दा पहिलो कुरा उसले धुमपान तथा जाँडरक्सी त्याग्नु पर्याे, व्यायाम सुरु गर्नुपर्याे । ब्यायाम सकेसम्म बिहान गरेको राम्रो । बिहानपख हिंड्ने बानी बसाउन आवश्यक छ । नसके दिउँसो अथवा बेलुका आधा घण्टादेखि ४५ मिनेटसम्म चाहीं हिंड्नपर्यो । दौडिन पर्दैन राम्रोसँग ४५ मिनेटसम्म मात्र हिंडे पनि पुग्छ । म दिउँसो धेरै काम गरिहाल्छु त्यसकारण मलाई हिंड्नु पदैन भन्ने होइन कि दिउँसोको काम छोडेर पनि बिहान छुट्टै हिड्न पर्यो । ब्यायामहरु, योग पनि गर्न सकिन्छ । त्यसरी एक्सरसाइज गर्यो भने राम्रो हुन्छ । अनि बिशेषगरी खानपानमा नुन धेरै भाको खानेकुरा खानु हुँदैन । एकैपटक ३-४ थरिका तरकारी अचार नखाने एकथरी अथवा दुईथरी मात्र खाए राम्रो । अनि बजारमा पाइने चिप्सलगायत प्याकेटको खानेकुराहरु, धेरै नुन भएको खानेकुराहरुलाई त्याग्ने जंकफुड, प्याकेट फुडहरुमा नुन धेरै हुने भएकाले पनि खानु हुँदैन । नुन कम भएका खानेकुराहरु खायो भने पनि राम्रो हुन्छ । साथै शरीरको तौल बढेको छ भने त्यसलाई पनि घटाउनु पर्छ । यति गर्यो भने उच्च रक्तचाप घट्न सक्छ ।
महामारीको बेला घरैमा मात्र बस्नुपर्दा व्यायाम कम हुने र धेरै खाने गर्नाले मुटुमा असर गर्छ या गर्दैन ?
घरमै भइराख्दा खेरि शारीरिक ब्यायाम कम हुन्छ । काम कम हने भएकाले शरीरलाई धेरै खानेकुरा पनि चाहिँदैन । त्यसैकारण खानेकुरा पनि धेरै खानु हुँदैन । अन्य सामान्य बेलाभन्दा कम खाने, अर्को कुरा घरमै भएपनि भर्याङ चढेर तलमाथि गरेर पनि ब्यायाम गर्न सकिन्छ । अथवा कोठामै पनि योग गरेर पनि ब्यायाम हुन सक्छ । योग र कसरतका धेरै आसनहरु छन् । घरैमा त्यस्ता ब्यायामहरु गर्न सकिन्छ । यसले धेरै राम्रो हुन्छ । साथै खानेकुरामा पनि ध्यान दिएर कम खाने गर्नूपर्छ । यदि कसैको टोल छिमेकमा धेरै मानीसहरु हिंडेका छैनन् भने मास्क लगाएर २ मिटरको दुरी कायम गरेर आधा, एक घण्टा बिहान हिड्यो भनेपनि राम्रै हुन्छ ।
(धुलिखेल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा.कोजुसँग मकालु खबरकर्मी समीक्षा गाहाले गरेको कराकानीमा आधारित)








