विशेषज्ञ नहुँदा थन्किए भेन्टिलेटर

विराटनगर । अघिल्लो वर्षको कोभिडले सिकाएको तर अहिले व्यवहारमा नदेखिएको भनेको भेन्टिलेटरको प्रयोग नहुनु हो । कोभिडको बेला सरकारले कतिपय ठाउँमा गरेको राम्रो काममध्येको एउटा पहाडी जिल्लामा भेन्टिलेटरको सुविधा प्रदान गर्नु पनि हो । पहाडका केही जिल्लामा प्रदेश सरकारले आईसीयू र भेन्टिलेटर पठाएको थियो । पठाइएको भेन्टिलेटर एक वर्षमा पनि जडान हुन सकेको छैन ।

कतिपय जिल्लामा जडान भएर पनि संचालनमा आउन नसकेको जिल्ला अस्पतालहरुले बताएका छन् । प्रदेश १ को भुल्केमा एकैदिन ८ जनालाई संक्रमण देखिएपछि पहिलो चरणको कोभिड महामारी शुरु भएको थियो । त्यसको त्रास प्रदेश १ का सबै जिल्लामा देखियो । त्यही बेलामा प्रदेश सरकारले उदयपुर जिल्ला अस्पतालको क्षमता विस्तार गर्न बजेट विनियोजन गर्‍यो भने आईसीयु र भेन्टिलेटर संघीय सरकारको सहयोगमा उपलब्ध गराइयो ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ का १४ जिल्लामध्ये पाँचथर जिल्ला अस्पतालमा २ बेड भेन्टिलेटरसहित १० बेड आइसियू सेवा, ईलाम जिल्ला अस्पतालमा २ बेड भेन्टिलेटर र २ बेड आइसियू सेवा संचालनको लागि सामग्री पठाइएको थियो । त्यस्तै धनकुटा जिल्ला अस्पतालमा १० बेड आइसियू र ४ बेड भेन्टिलेटर, उदयपुरमा २ बेड भेन्टिलेटर र ४ बेड आइसियू सेवा सुचारु गर्न भन्दै उपकरण पठाइएको एक वर्ष बितिसक्दा पनि अझै संचालनमा आउन सकेको छैन । मेची अस्पतालमा पनि आईसीयू सहितको भेन्टिलेटर सेवा पठाइएको मन्त्रालयले जनाएको छ । एक वर्ष पहिला नै पठाइएको भेन्टिलेटरसहितको सेवा कात्तिकमा नै जडान गरिसक्नुपर्ने थियो तर कतिपय जिल्लामा अझै जडान भएको छैन भने कतिपय जिल्ल्लामा जडान भएर पनि संचालनमा आउन सकेको छैन ।

पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले ती सामग्री धेरै पहिला नै जडान गर्नका लागि भनिएको थियो‚ तर अहिलेको महामारीको बेलामा पनि जडान हुन नसक्नु दुःखद भएको बताए । उनका अनुसार पहिलो वर्षको डरले नै धेरै जिल्ला अस्पतालको स्तरोन्नति गर्नेगरी काम थालिएको थियो । तर अहिले माग भइरहेको बेलामा पनि जडान नहुनु भनेको कहीँ कतै कमीकमजोरी भएको हुनसक्ने उनको ठम्याइ छ ।

उदयपुर जिल्ला अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीव नारायण मण्डलले १० जना एमडी डाक्टर हुनुपर्नेमा खाली रहेकाले सुचारु हुन नसकेको बताए । प्रविधि आए पनि त्यसलाई संचालन गर्न सक्ने जनशक्ति कुनै पनि अस्पतालमा हुन नसक्नु नै अहिलेको मुख्य समस्या रहेको उनको भनाइ छ ।

No description available.

मन्त्रालयले आइसियू र भेन्टिलेटरका लागि उपकरण खरिद गरेर सम्बन्धित कार्यालयमा पठाउने काम गरेको भएपनि संचालनका लागि विशेषज्ञ पठाएन ।  अहिले भन्टिलेटर नपाएर कोभिड संक्रमितको दैनिक मृत्युदर बढ्दै गएपछि त्यसको असर देखिएको छ ।

धनकुटा जिल्ला अस्पतालका प्रमुख डाक्टर पुजन विश्वकर्माले अझै भेन्टिलेटर शुरु हुन नसकेको बताए । सरकारले २ करोड आईसीयू र भेन्टीलेटर संचालनका लागि दिइएकोमा संचालनका लागि समस्या भएको बताए । एक महिनाभित्रमा आईसीयूसहितको भेन्टिलेटर निर्माण सकिने भएपनि संचालनमा ल्याउन दक्ष जनशक्ति नभएको विश्वकर्माले मकालु खबरलाई जानकारी दिए ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य विकास निर्देशनालयसँग यी अस्पतालमा भेन्टीलेटर गएको बारेमा तथ्यांकमा नै देखिँदैन निर्देशनालयको तथ्यांकअनुसार भेन्टिलेटर भएर पनि प्रयोगमा आउन नसकेको सोलुखुम्बु, उदयपुर, तेह्रथुम जिल्ला अस्पताल देखिएको छ । तर गतवर्ष स्थानीयको मागको आधारमा अरुण तेस्रोले संखुवासभा जिल्ला अस्पतालमा उपलब्ध गराएको भेन्टिलेटर पनि प्रयोगमा आउन नसकेको निर्देशनालयको तथ्यांकमा देखिन्न ।

त्यहाका स्थानीयका लागि एउटा भेन्टिलेटर उपलब्ध गराएको थियो । त्यो पनि अहिलेसम्म संचालनमा आउन सकेको छैन । सरकारी तथ्यांकअनुसार प्रदेश १ सबै अस्पतालमा ८८ वटा भेन्टीलेटर र १६२ वटा कोभिडको आईसीयू बेड रहेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *