ओलीको दाउ: सकेसम्म आफ्नै बहुमत नभए ‘अर्ली इलेक्सन’

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले बहुमतको सरकार बनाउन आह्वान गरेपछि अब नयाँ सरकारको लागि बहुमत पुर्याउने कसरत शुरु भएको छ । ठूलो दलको संसदीय दलको नेताका रुपमा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउने धेरैको आँकलन विपरित राष्ट्रपति भण्डारीले बहुमतको सरकार बनाउन आह्वान गरेकी हुन् ।

योसँगै अब दलहरूबिच बहुमत पुर्याउने खेल शुरु हुने निश्चित छ । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जसपा मिलेर बहुमत पुर्याउने सम्भावना छ । तर यसका पनि जटिलता छ्न् । जसपाको ठाकुर–महतो पक्षले सोमबारको मतदानमा आफ्नै पार्टीको भट्टराई–यादव पक्षको जस्तै ओलीको विपक्षमा मतदान गरेन ।

अर्कोतिर, काङ्ग्रेस र माओवादी अझ भनौ देउवा र प्रचण्डबिच को प्रधानमन्त्री बन्ने भन्ने होडबाजी पनि नचल्ला भन्न सकिन्न । सङ्गै प्रधानमन्त्रीको होडमा बाबुराम भट्टराई पनि सामेल नहुने कुनै कारण छैन ।

अझै छ ओली नेतृत्वको सरकार बन्ने सम्भावना
सोमबार विश्वासको मत पाउन असफल भएपनि ओलीको पक्षमा बहुमत पुर्याउने सम्भावना टरिसकेको अवस्था होइन । आफ्नै पार्टीको असन्तुष्ट पक्षलाई मिलाउन सके र जसपाको ठाकुर महतो पक्षलाई लिन सके उनले बहुमतको लागि आवश्यक पर्ने १३६ मत पुर्याउन सक्छन् ।

एमालेको १२१ मत छ । जसपाको ठाकुर–महतो पक्षको १५ मत (विश्वासको मतको न पक्षमा न विपक्षमा मतदान गरेका सांसदहरू) मत लिनसके १३६ मत पुग्छ । साथै, राप्रपा र मजदूर किसान पार्टीको समर्थन पाउन उनलाई गाह्रो छैन । जसले उनलाई २ मत थप हुनेछ ।

जेहोस् अब बहुमत पुर्याउने र सरकार बनाउने खेल शुरु भइसकेको अवस्थामा कसले बहुमत पुर्याउला भन्ने कौतुहलतामा नेपालको राजनीति अबका केही दिन बित्ने पक्कापक्की छ । आफ्नो पक्षमा बहुमत पुर्याउन नसके ओलीले सकेसम्म कांग्रेस, माओदीलाई बहुमत पुग्न नदिने र ‘अर्ली इलेक्सन’मा देशलाई लैजाने पक्कापक्की जस्तै छ ।

प्रतिक्रिया