ओलीले विश्वासको मत नपाउने ‘निश्चित’, अब के के छन् सम्भावना ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने पक्काजस्तै भएको छ । एमालेकै नेपाल–खनाल पक्षले संसद् बैठकमा नजाने निर्णय गरेसँगै ओलीले विश्वासको मत नपाउने पक्कापक्की जस्तै भएको हो ।

उसो त, एमालेका सबै सांसदले मत दिँदा पनि उनलाई बहुमत पुर्याउने अवस्था भने दुरुह बन्दै गएको थियो । जसपाको ठाकुर–महतो पक्षले पनि तटस्थ बस्ने निर्णय आइतबार नै गरिसकेको हो ।

प्रधानमन्त्रीका रुपमा ओलीले विश्वासको मत नपाएपछि उनी स्वतः पदमुक्त हुनेछन् । यससँगै अब के हुन्छ भन्ने चासो बढेको छ ।

अब राजनीतिक परिदृश्यका दुई विकल्प देखिन्छन् ।

प्रधानमन्त्रीले विश्वासको मत गुमाएपछिको अवस्थामा नयाँ सरकार गठन कि संसदमा ठूलो दलका रुपमा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त ? भन्ने विकल्प हुन् ।

धेरैजसाले लख काटेको कुरा चाहिँ अब राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को ठूलो दलका रुपमा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्ने अर्थात् संविधानको धारा ७६ (३) अनुसार अघि बढ्ने भन्ने हो । शीलत निवाससँग गजबको ट्युनिङ्ग मिलाउन सफल प्रधानमन्त्री ओलीलाई नै नयाँ प्रधानमन्त्रीका रुपमा फेरि नियुक्त गर्ने सम्भावना प्रवल रहेको बताउनेहरु धेरै छन् । यसो गर्दा नियुक्तिको १ महिनाभित्र प्रधानमन्त्रीले बहुमतसिद्ध गर्नुपर्नेछ ।

तर, कांग्रेस र माओवादी केन्द्र भने यस्तो व्याख्या गर्न नहुने तर्क गरिरहेका छन् । सरकारले धारा १०० अनुसार विश्वासको मत लिन चाहेकाले र विश्वासको मत लिन नसके उनी स्वतः प्रधानमन्त्रीबाट हट्ने भएकाले नयाँ सरकार गठनको प्रक्रिया थाल्नुपर्ने उनीहरुको भनाइ छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए संवैधानिक बाटोबाटै अगाडि बढ्ने बताउँछन् । नेता नेम्वाङ्गले मकालु खबरसँग भने– ‘यदि प्रधानमन्त्रीज्यूले विश्वासको मत पाउनुभएन भने संवैधानिक बाटो अपनाउनुहुन्छ । राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गर्नुहुन्छ ।’

अब देश कुन राजनीतिक विकल्पमा अघि बढ्छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया