सार्वजनिक स्थानलाई निःसंक्रमण गर्दै महानगरपालिका

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तीव्ररुपमा फैलिरहेको कोभिड–१९ को नियन्त्रणका लागि सार्वजनिक स्थान, अस्पताल, सुरक्षा जाँच गर्ने स्थानमा ठूला जेट मेसिनको प्रयोग गरी निःसङ्क्रमण कार्य गरिरहेको छ ।
मानिसको बढी आवतजावत हुने ती स्थानसँगै, कोरोनाका बिरामीलाई अस्पताल लैजाने र ल्याउने एम्बुलेन्सलाई पनि निःसङ्क्रमण गरिएको हो ।
‘बन्दाबन्दी भए पनि कतिपय मानिस अत्यावश्यक कामले बाहिर निस्किनुपर्ने हुन्छ, यसरी मानिस आवतजावत हुने स्थान, सुरक्षा जाँच गर्ने स्थान र अस्पताल परिसरलाई केन्द्रित गरेर निसङ्क्रमणको काम गरिरहेका छौँ,’ नगरप्रमुख विद्यासुन्दर शाक्यले भने ।
गत वर्ष पनि महानगरपालिकाले सार्वजनिक स्थानसँगै मानिसको बढी भीडभाड हुने स्थानमा निसङ्क्रमण गरेको थियो ।
महामारीका कारण अहिले सरकारले देशका ५२ जिल्ला र केहीमा आंशिक तथा केहीमा पूर्णरूपमा बन्दाबन्दी गरेको अवस्था छ ।
यसैबीच महानगरपालिकाले बढिरहेको सङ्क्रणदरलाई ध्यान दिँदै अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माणका लागि सात सदस्यीय समिति गठन गरेको छ ।
कोभिड नियन्त्रणका लागि साना–साना एकाइमा क्वारेन्टिन, आइसोलेसनजस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकाले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने विषयलाई जोड दिएको पनि प्रमुख शाक्यको भनाइ छ ।
‘साना–साना धेरै आइसोलेशन बनाइयो भने ती ठाउँमा अक्सिजनलगायत सामग्री र जनशक्ति पुर्याउन कठिन हुन्छ, यस्ता ठाउँमा बिरामीलाई सन्तोषजनक सेवा दिन पनि सकिँदैन, त्यहाँ कुनै कारण जोखिम सिर्जना भयो भने जिम्मेवारी लिने कोही हुँदैन, त्यसैले हामी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ठूला अस्पतालसँग सहकार्य गरेर उहाँहरुसँग भएको क्षमता बढाउन चाहन्छौँ,’ प्रमुख शाक्यले भने।








