मस्तिष्कघात भएका बरिष्ठ पत्रकार गुरुङको स्वास्थ्य अवस्था सुधार हुँदै

काठमाडौं । मस्तिष्कघात भएर अस्पताल भर्ना भएका वरिष्ठ पत्रकार हस्त गुरुङको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

वैशाख १६ गते मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका गुरुङको स्वास्थ्य अवस्था सुधार भएको र बुधबार बेलुका डिस्चार्ज गर्ने अस्पतालले जनाएको पत्रकार गुरुङले जानकारी दिए ।

अहिले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको र डाक्टरले केही समय थेरापी गर्नुपर्ने बताएकाले काठमाडौंमै रहेर थप उपचार गराउने तयारी गरेको उनले बताए । ‘अहिले पनि दायाँ खुट्टा चलाउन सकिरहेको छैन तर बिस्तारै सहज हुँदैछ, यसअघि हात चलाउन पनि समस्या थियो‚ अहिले हात चलाउन समस्या छैन‚ बिस्तारै ठिक हुने डाक्टरहरुले बताएका छन् ।’ उनले भने ।

चितवनमा रहेका बेला मस्तिष्कघात भएपछि चितवनमै अस्पताल भर्ना भएकोमा भोलिपल्ट त्यहाँबाट काठमाडौं रिफर गरेपछि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

यसैबिच नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अस्पतालमा पुगेर पत्रकार गुरुङको स्वास्थ्यलाभको कामना गरेका छन् । गुरुङ अस्वस्थ भएर अस्पताल भर्ना भएको कुरा बुधबारमात्र थाहा भएको र त्यसपछि लगत्तै अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया