बैतडी जिप दुर्घटना: मृतकको संख्या ६ पुग्यो

काठमाडौं । बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । पञ्चेश्वर गाउँपालिका-६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको हो ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार भण्डारीको मङ्गलबार बेलुका जिल्ला अस्पतालमा मृत्यु भएको हो । यसअघि पञ्चेश्वर-६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने जिपचालक तेजबहादुर बोहराको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

पञ्चेश्वर-६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से१ज १८३ नंको जिप मङ्गलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर-६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटना भएको थियो । सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए ।

साँघुरो घुम्तीमा मोड्न नसकेपछि ब्याक गर्दा जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो । वडा सदस्यको मृत्युले शोकमा डुबेको रोडिदेवल गाउँ थप ६ जनाको दुर्घटनामा परी मृत्यु भएसँगै थप शोकमा डुबेको छ ।

प्रतिक्रिया