विराटनगरका मेयरको अक्सिजन राजनीति, स्वास्थ्य महाशाखालाई पत्तै छैन

विराटनगर । विरानगरमा कोरोना संक्रमितको संख्या दैनिक २३० को दरमा फैलिएको छ । अधिकांश होम आइसोलेशनमा छन् । होम आइसोलेशनमा बसेकाहरुको कतिपयको घरमै मृत्यु भएका घटनाहरू पनि आइरहेका छन् । मंगलबार बिहान बेलवारीमा एक पुरुषको होम आइसोलेशनमा नै मृत्यु भएको छ ।

होम आइसोलेशनमा रहेकाहरुको अक्सिजनको अभावमा मृत्यु नहोस् भनेर लाग्नु हरेक स्थानीय तहको दायित्व हो ।

अहिले विराटनगरमा अक्सिजन अभाव हुन नदिनका लागि काम शुरु भएपनि विधि र प्रक्रिया मिचिएको आरोप लाग्दै आएका छन् ।

हरेक दिन आवश्यक पर्ने अक्सिजनको सिलिण्डर नभएको अवस्थामा त्यसलाई व्यवस्थापन गर्नुपर्ने दायित्व स्थानीय तहको छ । विराटनगरमा भने मध्यरातमा मेयर भिम पराजुली अक्सिजन लिएर हिँडेको भन्ने विषय अहिले चर्चा र आलोचनाको केन्द्र बनेको छ ।

विभिन्न वडा अध्यक्षहरूले त मेयरले गरेको कामलाई विधि मिचेको भनेर आलोचना गरेका छन् ।

विराटनगरमा रहेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले आफ्नो फेसबुक स्टाटस लेखेका छन्, ‘मध्यरातमा मेयर भिम पराजुली अक्सिजन लिएर कोभिड-१९ संक्रमितका घर-घर पुगे भनेर हर्ष गर्नुको कुनै औचित्य छैन ।’

उनले आफ्नो स्टाटसमा धेरै प्रश्नहरु उब्जाएका छन्, ‘मेयरसँग अक्सिजनको लेबल मिलाउने डाक्टर वा विशेषज्ञ को छ ? कति अक्सिजन कस्ता बिरामीलाई दिने भन्ने ज्ञान कति छ ? अनि मेयरले समग्रमा विराटनगरमा अक्सिजनको व्यवस्थापन गर्ने कि सीमित घरधुरीमा आफैँ पुगेर अक्सिजन बाँडेको मार्केटिङ गर्ने ? फेसबुक भर्ने ? कसैलाई अक्सिजन चाहिए‚ व्यक्ति गुहार्नुपर्ने कि महानगरपालिकाले त्यसको जिम्मा लिएर वान डोर वा मल्टी डोर सिस्ट्मबाट काम दिने ? यो मार्केटिङ हो‚ सस्तो मार्केटिङ ।’

महानगरपालिकाका मेयर पराजुलीले घर घरमा गएर बाँडेको भनिएको अक्सिजनको सिलिन्डर मेयर स्वयंले खरिद गरेको नभई महानगरमा स्टकमा रहेको सिलिन्डर हो । महानगरपालिकामा स्टकमा रहेको सिलिन्डरलाई मेयरले गाडीमा हालेर हिँड्ने अनि त्यसैबाट उनले आफ्ना कार्यकर्ता, नजिकका मित्र, व्यापारीलगायतलाई उपलब्ध गराउने गरेको आरोप लागेको छ ।

अक्सिजन सिलिन्डरको अवस्था
विराटनगर महानगरापालिकाको कार्यालयमा २० वटा सिलिन्डर स्टकमा राखिएको थियो । मंगलबार दिउँसोसम्म मेयरले १३ वटा लगिसकेका छन् । त्यो क-कसको घरमा पुग्यो भन्ने महानगरपालिकाका कुनै कर्मचारीलाई थाहा छैन । मेयरले लगेर बाँकी रहेको ५ वटा बैजनाथपुरको आइसोलेसनमा पठाइएको छ, दुईवटा सिलिन्डर वडा नम्बर २ र ३ का वडाअध्यक्ष मार्फत् पठाइएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताए ।

अहिले विराटनगर महानगरपालिकामा भएका सबै सिलिन्डर बाँडिसकिएको अवस्थामा भोलि तत्काल आवश्यक पर्दा कहाँबाट ल्याउने भन्ने देखिएको छ । प्रमुख प्रशासकीय अधिृकत बस्नेतका अनुसार बजारमा सिलिन्डरको अभाव देखिएको छ, लेखा र स्वास्थ्य शाखालाई तत्काल १०० थान अक्सिजन सिलिण्डर खरिद गर्न निर्देशन दिएको छ । अहिले बजारमा १० थान पनि सिलिन्डर पाउन मुस्किल परेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

मेयरको अक्सिजन राजनीति
महानगरपालिकामा कति सिलिन्डर छ भन्नेबारेमा समेत सबै अन्यौलमा छन् । विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले अक्सिजनको सिलिण्डरको बारेमा आफूलाई जानकारी नै नभएको बताए । ‘हामीसँग भएको सिलिन्डर २० थान हो‚ त्यो पनि गइसकेको छ,’ उनले भने, ‘अहिले हामीसँग एउटा पनि छैन।’ मेयरले घरघरमा पुर्‍याएको अक्सिजन सिलिन्डरको बारेमा महाशाखासँग कुनै समन्वय नै भएको देखिँदैन ।

मेयर पराजुलीले संस्थालाई कमजोर बनाएर आफ्नो राजनीति देखाउने थलोको रुपमा अक्सिजन राजनीति गरेको आरोप वडा अध्यक्षहरूले लगाउँदै आएका छन् । मेयरले सामग्रीको जोहो गर्ने , खोज्ने र व्यवस्थापन गरेर महानगरपालिकाको प्रणालीमार्फत् वितरण हुनुपर्नेमा आफू असल देखिन मेयरले महानगरको सम्पत्तिमा एक्लो दोहन गरेको वडाअध्यक्ष बिनोद बस्नेतले आरोप लगाए ।

मेयरले संस्थागत निर्णय नगरी गरेको काम उपमेयरलाई पनि चित्त बुझेको छैन । मेयर आफू लोकप्रिय हुने हो भने आफ्नै लगानीमा सिलिन्डर किनेर पुर्‍याउन जानुपर्ने‚ यदि होइन भने महानगरबाट हुने काम सिस्टमबाट हुनुपर्ने उपप्रमुख ईन्दीरा कार्कीको बुझाइ छ। ‘हामीलाई पनि धेरैतिरबाट फोन आउँछ‚ हामीले तत्काल लगिदिन महाशाखामार्फत् भन्ने गरेका छौँ,’ उनले भनिन्, ‘महानगरको एकद्वार प्रणालीबाट वितरण गर्दा अभावको बेलामा सबैले समान रुपमा सेवा पाउने थिए, एकलौटी काम शुरु भयो‚ धेरैलाई बचाउन समस्या हुने देखियो ।’

‘आफूमात्र केन्द्रीकृत गराउने रणनीतिले महानगरलाई बदनाम गराउने काम गरेको छ,’ उनले भनिन्, ‘वडा अध्यक्षको अस्तित्व नै समाप्त पार्ने काम भयो ।’

‘सक्नुहुन्छ गर्नुस्’
मेयर पराजुलीले अहिले पनि गाडीमा दुईवटा अक्सिजन सिलिन्डर बोकेर हिँडेका हुन्छन् । अहिलेसम्म ३० बढी सिलिन्डर बाँडेको दाबी गरेका मेयर पराजुलीले महानगरपालिकामा एक सय सिलिन्डर भएको दाबी गरे । ‘महानगरपालिकासँग पहिलादेखि नै एक सयओटा सिलिन्डर थिए,’ मेयर पराजुलीले भने, ‘त्यही सिलिण्डरमार्फत् मैले माग भएको ठाउँमा राति पनि नभनी ३० वटा वितरण गरिसकेको छु ।’

मेयर पराजुलीले भनेझैँ विराटनगर महानगरपालिकामा एक सय सिलिन्डर अहिले छैन । प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार अहिले महानगरमा भएको जम्मा सिलिन्डरको संख्या २० मात्र हो, त्यो पनि सकिएको छ ।

मेयर पराजुलीले वितरण गर्ने अक्सिजन प्रोटोकलका आधारमा बाँड्ने गरेको सुनाए । ‘म आफैँ पनि मेडिकल बुझेको व्यक्ति हुँ,’ मेयर पराजुलीले भने, ‘कुन अवस्थाका व्यक्तिलाई कति मात्रामा अक्सिजन दिने भन्ने हेक्का मसँग छ ।’ अहिले बजारमा अक्सिजन पाइएपनि सिलिन्डर नपाउँदा आफैँ पुगेर उपलब्ध गराउने गरेको मेयरले बताए ।

अक्सिजन जनताको घर घरमा पुर्‍याएको बारेमा आलोचना गर्नुभन्दा पहिला त्योभन्दा बढी बाँडेर देखाउन आफ्ना जनप्रतिनिधिलाई उनले चुनौती दिए । ‘मैले घरमा पुर्‍याएँ भनेर आलोचना गर्ने होइन,’ मेयर पराजुलीले भने, ‘सक्ने भए आफूले पनि त्योभन्दा बढी बाँढेर देखाउनु नि ।’

उनले आफूले सक्ने गर्ने र नसक्ने ३ जना डाक्टर महानगरपालिकामा रहेकाले उनीहरूमार्फत् काम गराउने गरेको बताए । ‘मसँग डाक्टर, स्वास्थ्यकर्मी, ल्याबको व्यक्ति सबै हुने भएकाले आवश्यकताअनुसार प्रयोग हुन्छन्,’ उनले भने, ‘शव व्यवस्थापनको काममा पनि कतिपय अवस्थामा म आफैँ लागेको छु ।’

मेयरले जाँचेर नहिँडेको तर व्यवस्थापनको काम भने गरेको सुनाए । ‘मेरो दायित्व नै यही हो‚’ उनले भने, ‘बिहानदेखि बेलुकासम्म लाग्छु, अब दुई हप्ता सुत्दिनँ ।’

प्रतिक्रिया