धनुषाका एक मेयर र तीन उपमेयरलाई माओवादीले सोध्यो स्पष्टीकरण

जनकपुरधाम । धनुषाका एक नगर प्रमुख र तीन उपप्रमुखलाई नेकपा (माओवादी केन्द्र)ले स्पष्टीकरण सोधेको छ । माओवादीबाट निर्वाचित नगर प्रमुख तथा उपप्रमुखलाई पार्टी हितविपरीत तथा शंकास्पद गतिविधि गरेको भन्दै तीन दिनभित्र पार्टीमा स्पष्टीकरण पेश गर्न लिखित निर्देशन दिएको छ ।

धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास तत्मा तथा उपप्रमुख निलमदेवी मण्डल, शहीदनगर नगरपालिकाकी उपप्रमुख शिलादेवी कापर र सबैला नगरपालिकाकी उपप्रमुख निलुदेवी कापरलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिएका सबैजना माओवादीबाट निर्वाचित जनप्रतिनिधि हुन् । २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र र एमाले अलग भएपछि यी पदाधिकारीहरू नेकपा एमालेको कार्यक्रममा सहभागी हुँदै आएको पाएपछि स्पष्टीकरण सोधिएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्र धनुषाका इन्चार्ज योगकुमार बरबरीया यादव (जीवन) र जिल्ला सचिव दिपक यादवको संयुक्त हस्ताक्षर रहेको स्पष्टीकरण पत्रमा पार्टी पुरानै अवस्थामा फर्के पनि पार्टीका कार्यक्रममा किन सहभागी नभएको ? आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशिलता के–कति कारणले नदेखिएको ? माओवादी केन्द्र परित्याग गरेको हो वा होइन ? भनी तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको जिल्ला सचिव दिपक यादवले बताए । उनले केही वडाध्यक्षहरुलाई समेत स्पष्टीकरण सोधिएको स्वीकार गरेपनि नाम भने खुलाउन चाहेनन् ।

माओवादी केन्द्रले स्पष्टीकरण सोधेपछि उनीहरुलाई कारबाही गर्ने तयारी गरिएको आशंका गरिएको छ ।

प्रतिक्रिया