सोमबारदेखि झापामा निषेधाज्ञा

दमक । झापामा पनि सोमबारदेखि निषेधाज्ञा जारी गरिएको छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा उल्लङ्घन गर्ने र आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुनबमोजिम सजाय हुने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।

निषेधाज्ञामा कुनै पनि भेला, जुलुस, सभा सम्मेलन, छलफल गोष्ठी नगर्ने, हाट बजार, मेला, जात्रा महोत्सव पार्टी, भोजलगायतको भिडभाड हुने कार्य नगर्ने नगराउने, अत्यावश्यक बाहेक १० वर्षभन्दा मुनि तथा ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिहरू तथा दिर्घरोगीले कुनै पनि काममा घर बाहिर नजान प्रशासनले आह्वान गरेको छ ।

त्यस्तै सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैङ्कबाट इजाजत प्राप्त सहकारी संस्थाहरूले आफ्नो कार्यालय र कर्मचारीहरूको अवस्था हेरी सम्बन्धित माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा वा अत्यावश्यक सेवाबाहेक अन्य सेवा हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

सोही निर्णय बमोजिम जिल्ला अधिकांश सरकारी कार्यालय आइतबार सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक सबै सेवा एक साताका लागि बन्द गरिसकेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए । प्रहरीले झापाका मुख्य मुख्य चोक तथा बजारमा चेक जाँचमा कडाई गरिरहेको झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सानुराम भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया