राष्ट्रिय जनगणना स्थगित

काठमाडौं । राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले मकालु खबरलाई दिएको जानकारीअनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ २५ बाट हुने भनिएको राष्ट्रिय जनगणना स्थगित भएको हो । ‘मन्त्रिपरिषद्ले निर्णय गरेको भन्ने कुरा छ,’ रेग्मीले भने– ‘आधिकारिक सूचना आउला अनि स्थगित होला ।’

उपमहानिर्देशक रेग्मीकाअनुसार हाल सुपरिवेक्षकको तालिम पनि स्थगित भएको छ । संक्रामक कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकासँगै देशका ठूला शहरमा गरेको निषेधाज्ञाका कारण सुपरिवेक्षकको तालिम रोकिएको हो । उपमहानिर्देशक रेग्मीले भने– ‘सुपरिवेक्षकको तालिम रोकिसकेको छ । यसपछि अब स्वाभाविक रुपमा अन्य कारबाहीहरु रोकिएलान् ।’

हरेक १० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना आगामी जेठ २५ देखि असार ८ सम्म सञ्चालन हुँदै थियो ।

प्रतिक्रिया