‘घरमा नपुगी चौतारीमै बसेर फाराम भर्न अब चाहिँ सजिलो छैन’ [भिडिओ वार्तासहित]

  • धनबल राई

काठमाडौं । नेपालमा हरेक १०/१० वर्षको अन्तरमा राष्ट्रिय जनगणना हुँदै आएको छ । विसं १९६८ देखि शुरु भएको राष्ट्रिय जनगणना नेपालमा ११औं पटक विसं २०६८ मा भएको थियो । यसैबीच अब १२औं जनगणना आगामी विसं २०७८ सालको जेष्ठ २५ गतेबाट अषाढ ८ सम्म ‘मेरो गणना, मेरो सहभागगिता’ भन्ने मूल नाराका साथमा सम्पन्न हुँदैछ । त्यसो त यो जनगणना कुन प्रक्रियाबाट हुन्छ ? दशकअगाडिको जनगणनाभन्दा यो जनगणना के कारणले फरक ? कति फरक ? जनगणना गराउने मुख्य विभाग केन्द्रीय तथ्यांक विभागले जनगणनाको तयारी कहाँ पुर्यायो ? यसको चुनौतीहरु कस्ता–कस्ता छन् ? विभागले त्यसको निराकरण कसरी गर्नेछ ? यी यावत् प्रश्नहरुको जवाफ हामीले केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीसँग खोजेका छौं । प्रस्तुत छ, उपमहानिर्देशक रेग्मीसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको यो सामग्रीः–

दशकअगाडिको जनगणना र अहिलेको जनगणनाबीच भिन्नता
जनगणना विगत १०० वर्षदेखिको निरन्तरता हो । त्यसकारण धेरै कुराहरु त फरक हुँदैनन् । विगतको निरन्तरतालाई हामीले कामय गर्नैपर्छ । तर, यति हुँदाहुँदै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियत स्तरमा भएका परिवर्तणहरु, प्रविधिमा आएका परिवर्तनहरु, जनताको चेतना र राज्यको आवश्यक्ताको आधारमा हामीले जनगणनाका प्रश्नावलीलाई केही परिमार्जित गरेका छौं । र मूलतः अघिल्लो जनगणनासँगै तुलना गर्ने हो भने त्यसका प्रश्नहरु छनौट विधिबाट संकलित थिए भने अधिकांश प्रश्नहरु पूर्ण गणना गरिएको थियो । यसपाली हामीले करिब ८० वटा प्रश्नहरु तयार गरेका छौं । ती ८० वटै प्रश्नहरु पूर्ण गणना गरिनेछ । हरेक व्यक्तिलाई प्रत्येक घरपरिवारमा गएर सोधिनेछ । त्यसपछि पहिलो परिवारको मात्रै गणना गर्ने गर्थ्यौँ, यसपाली चाहिँ हामीले घरको समेत गणना गर्दैछौँ । आवासीय घरहरु, संस्थागत घरहरु अथवा अन्य कुनै घरहरुको पनि गणना गर्नेछौँ । त्यसबाहेक हामीले थपेका विवरण भनेको बैंक तथा वित्तीय संस्थामा खाता छ कि छैन भन्ने विवरणहरु, अझै ‘क्लोज एक्सेस्’ भनौं अनि अनुपस्थित जनसंख्याबारे पूर्ण जानकारी दिने गणना गर्नेछौं । यसैगरी आर्थिक क्रियाकलापहरुलाई समेट्न प्रयास गरेका छौं । यसमा पनि हामीले ‘सेक्टरवाइज्’ रुपमा विवरण लिनेछौं, जस्तैः सरकारी होकि, अन्य वित्तीय संस्था होकि, घरपरिवारमै होकि यी यावत् कुराहरुलाई पनि हामीले थपेका छौं । यसबाहेक थपिएका प्रश्नहरुमा जन्मदर्ताको कुरा, जन्ममितीको कुरालगायतका विषयलाई अटाएका छौं ।

यसपाली हामी ‘मिक्समोडेल’ प्रक्रियाबाट जनगणना गर्नेछौं । पहिले हामीले ‘पेपर एण्ड पेन्सिल’ विधिबाट मात्रै गर्थ्यौँ भने अब चाहिँ विदेशमा रहेको कूटनीतिक नियोगहरुबाट पनि इमेलमार्फत् विवरणहरु संकलन गर्नेछौं । यसकारण हामी यसपाली ‘मिक्समोडेल’ विधिमा जाँदैछौं । यसका साथै हामीले गणकहरुमार्फत् गणना गर्नेछौं । गणकहरुमा पहिले हामीले शिक्षकहरुमार्फत् मात्रै छनौट गर्थ्यौँ, यसपाली चाहिँ हामीले शिक्षकहरुका अतिरिक्त खुल्ला बजारबाट पनि भर्ना गर्नेछौं । यसले बेरोजगारलाई पनि केही र केही समयसम्मको लागि भए पनि हटाउनेछ भन्ने पनि छ । यसैगरी यसपाली थपिएको अर्को विषय भनेको थपिएको प्रश्नावली, हामीले हरेक वडामा गएर त्यसको वस्तुस्थिति कस्तो छ, समुदायको अवस्था कस्तो छलगायतका विवरणहरु पनि छुट्टै प्रश्नावलीहरुमार्फत् संकलन गर्दैछौं भने तथ्यांक संकलन गरिसकेपछि ‘डाटा इन्ट्रि’का कामलाई पनि अर्को तरिकाले गर्नेछौं । पहिले चाहिँ हामी यसलाई ठेक्कामा दिने गर्थ्यौँ, यसपाली हामीले विभागमै पुनः स्थायी जनशक्तिको व्यवस्था गरेर हाम्रै रोहबरमा ‘डाटा इन्ट्रि’ गर्नेछौं ।

जनगणनाको तयारी
नेपाल सरकारको आधिकारिक तथ्यांकीय निकाय केन्द्रीय तथ्यांक विभाग हो । राज्यलाई आवश्यक पर्ने र जनतासँगै अन्य तथ्यांक उपयोगकर्ताहरुलाई आवश्यक पर्ने सामाजिक तथ्यांक, वातावरणीय तथ्यांक र अन्य विविध खालका तथ्यांकहरु विभिन्न खालले हामीले उत्पादन गर्ने गर्छौं । त्यसमध्येको जनगणना चाहिँ प्रमुख एउटा साधन हो । अब तयारीको कुरा गर्नुपर्दा यसको तयारी करिब–करिब अन्तिम अवस्थामा पुगेको छ । हामीले प्रश्नावलीलाई अन्तिम रुप दिइसकेका छौं भने यो नेपाल सरकारबाट स्वीकृत भएर राजपत्रमा पनि छापिसकेको छ । जनगणनाको तथ्यांक कसरी भर्ने र भरिएका तथ्यांकहरुलाई कसरी विश्वसनीय अनि उपयोगी बनाउने भन्नेबारे हामीले निर्देशिकाहरु पनि तयार गरिसकेका छौं । त्यसमा पनि गणकको लागि छुट्टै निर्देशिका र तालिम कार्यक्रममा सहभागीको लागि अर्कै निर्देशिका बनाएका छौं । यी निर्देशिकाहरुलाई अन्तिम रुप दिएर हामीले छपाइको प्रक्रियामा पनि लगिसकेका छौं । यसबाहेक हामीले झोला, कापीकलमलगायतका सामग्रीहरुको व्यवस्था पनि गरिरहेका छौं । टेण्डर प्रक्रिया भइसकेको छ ।

अब सामानहरु आउन शुरु हुन्छ । अब हामीले गर्नैपर्ने दुईवटा काम बाँकी छन् । एउटा चाहिँ जनशक्तिलाई भर्ना गर्ने, जहाँ हामीले करिब ५० हजार जनशक्तिलाई भर्ना गर्ने भनेका छौं । भर्ना भएका जनशक्तिलाई तालिम दिने भनेर भनेका छौं । जुन हामी आगामी चैत्रदेखि गरिसक्ने छौं र चैत्रदेखि हामीले जिल्ला जनगणना कार्यालयहरु, स्थानीय स्तरमा जनगणना कार्यालयहरु खोल्ने भनेका छौं । अनि बाँकी कामलाई पनि सकाउने ध्येयका साथ अहिले हामीले काम गरिरहेका छौं ।हामीले तयारी गरिनै रहेका छौं । हामीले जेष्ठसम्ममा पूर्ण रुपमा सकाउनेछौं ।

गणना महलको कुरा
महलको कुरा गर्दा हामीले मूलतः प्रश्नहरुको संगालो भन्दा प्रश्नावली हुने भयो । त्योभित्र ८० वटा प्रश्नहरु छन् । त्यो प्रश्नभित्र चाहिँ विभिन्न खण्डहरु हुन्छन्, जसलाई हामी महल भनेर भन्छौं । जस्तोः तपाईँको जग्गाजमीन कति छ ? भनेर भन्दा प्रश्न चाहिँ १ वटा भयो भने त्यहाँभित्र विघा, कठ्ठा, कित्ता, पैसालगायत भनियो भने महल हुने भयो । यी महलहरुमा पनि केही परिवर्तण भएका छन् । भन्नुको अर्थ पहिलेभन्दा हामीले थपेका छौं । पहिलेका विषयहरुलाई यतावत् राखेर अन्य केही महत्वपूर्ण विषयलाई थपेका छौं ।

कर्मचारी (गणक, सुपरीवेक्षक र अन्य)को छनौट र व्यवस्थापन
कर्मचारी (गणक, सुपरीवेक्षक र अन्य)को छनौट र व्यवस्थापनको कुरा गर्नुपर्दा यसपाली हामीले करिब ४० हजारभन्दा बढी गणक र करिब ९ देखि १० हजारसम्म सुपरीवेक्षक भर्ना गर्नेछौं । यसका अतिरिक्त २ देखि ३ हजारसम्म व्यवस्थापकीय तयारीको लागि कर्मचारी तयारी गर्नेछौं । जस्तैः लेखा, प्रशासन, कार्यालय सहयोगी अथवा अन्य कुनै पनि कामको लागि कर्मचारी भर्ना गर्नेछौं । चैत्रदेखि हामीले कार्यालय खोल्ने हो । यसको छनौटको लागि भने हामीले चैत्रभन्दा पहिले नै ‘अनलाइन एड्भरटाइज्’ गर्ने भनेका छौं । जसको लागि हामीले सफ्ट्वेर पनि निर्माणको प्रक्रियामा छ । जसका लागि हामीले निश्चित योग्यता तोक्नेछौं । जस्तैः उदाहरणको लागि १२ कक्षा पढेको, गणित तथ्यांक पढेकोलाई विशेष प्राथमिकता दिनेछौं । स्थानीय भाषा बोल्नेलाई पनि प्राथमिकता दिने, दशकअगाडिको जनगणनामा काम गरिसकेकोलाई प्राथमिकता दिनेलगायतका यस्ता धेरै मापदण्डहरुलाई राखेर हामीले सफ्ट्वेर नै विकास गर्दैछौं । त्यो सफ्ट्वेरमार्फत् ‘सर्ट लिस्टिङ्ग’गर्ने र त्यसलाई सम्बधित जिल्ला जनगणना कार्यालयहरुमा पठाउने छौं । यो प्रक्रियाबाट हामीले कर्मचारीहरु नियुक्त गर्नेछौं । जिल्ला जनगणना समन्वय समिति प्रजिअको रोहबरमा हुन्छ । त्यो समितिले यी कर्मचारीहरुको भर्नाको प्रक्रियालाई अन्तिम रुप दिनेछ । त्यसपछि उनीहरुलाई हामीले बैशाख महिनामा तालिम दिनेछौं । त्यसपछि हामीले बैशाख महिनाभित्र जनगणनाको ‘फिल्डवर्क’ सम्पन्न गर्नेछौं भनेर प्रस्ताव गरेका छौं ।

उपमहानिर्देशक रेग्मीसँगको भिडिओवार्ता यहाँ हेर्न सकिन्छः–

विदेशमा रहेका नेपालीहरुको संलग्नताका चुनौती
विदेशमा रहेका नेपालीहरुलाई समेट्न हामीलाई साँच्चिकै चुनौती छ । तर, यसका लागि हामीले केही मापदण्डहरु बनाएका छौं । जस्तोः छोटो अवधिका लागि विदेश गएका नेपालीहरुलाई हामी नेपाली भनेर स्वदेशमै उपस्थित भनेर तीर्थ ब्रत गर्न गएका, पर्यटकीय गन्तव्यमा पुगेका अथवा घुमफिरको लागि गएका, स्वास्थ्योपचारको लागि गएकाहरु देशमित्रै गनिनुहुन्छ । उहाँहरु अनुपस्थित जनसंख्यामा पर्नुहुन्न । तर, विगत ६ महिनाभन्दा बढी समय विदेशमै बसोबास गरिरहनुभएका, कामको सिलसिलामा गएकाहरु, अध्ययनको सिलसिलामा गएकाहरु, अथवा अन्य कुनै सिलसिलामा बसाइँसराई नै गरेर गएका वर्गहरुलाई चाहिँ हामीले अनुपस्थित जनसंख्या भनेर भन्छौं । अनुपस्थित जनसंख्याको गणना गर्ने मुख्य चुनौती चाहिँ के हो भने पूरै परिवारै सरेर गएको छ भने त्यो चाहिँ हामीले थाहा पाउँदैनौं । किनभने, हामीले थाहा पाउने भनेको परिवारमा सोधेर हो । परिवारमा कम्तिमा पनि एक जना सदस्य छ भनेर सोधेर बाँकी सदस्यलाई अनुपस्थित तथ्यांकमा समावेश गर्नेछौं ।

तर, पूरै परिवारै बसाइँसराई गरेर विदेशिएको छ भने त्यो परिवार जनगणनामा समेटिँदैन । यसलाई गणनाको एउटा सीमितता भन्नुस् तर, परिवारभित्रको एकजना मात्रै सदस्य नेपालमा रहेको खण्डमा त्यस्तो परिवारलाई चाहिँ हामीले अनुपस्थित जनसंख्या भनेर जनगणनामा समावेश गर्नेछौं । तर, पूरै परिवार विदेशिएको छ र कुनै सदस्य नेपालभित्र छैन भने त्यसबेला चाहिँ समस्या हुन्छ । यसलाई हामीले समावेश गर्दैछौं । भनौं, हामीले यस्तो अवस्थामा गणना गर्दैनौं ।

नमूना जनगणनाको कुरा
नमूना जनगणना भइसकेको छ । गत वर्षको अषाढ महिनामा हामीले गरिसकेका छौं । यसको मुख्य उद्देश्य चाहिँ के हो भने, यो एउटा ‘रिहर्सल’जस्तो हो । जस्तैः एउटा नाटक मञ्चन गर्नुभन्दा पहिले जसरी कलाकारहरुले अभ्यास गर्छन्– पात्रहरुले अभिनय कसरी गर्छन्, स्क्रीप्ट मिल्यो कि मिलेन, कार्यक्रमको समय व्यवस्थापन कस्तो छ सँगै अन्य ‘लोजिस्टिक व्यवस्थापन’ कस्ता छन् ? भनेर गर्छन् । जसरी हामीले पनि यो ‘रिहर्सल’ गरिसकेका छौं । जनगणनामा गरिने प्रश्नहरु सोध्न उपयुक्त छन् कि छैनन् ? सोधिएको प्रश्नहरुको उत्तर दिन उत्तरदाताहरुले सक्छन् कि सक्दैनन् ? जनशक्ति कति चाहिन्छ ? एक गणकले एकदिनमा कतिजनाको तथ्यांक संकलन गर्न सक्छ ? ट्राभलको लागि समय कति चाहिन्छ ? त्यसको लागि अन्य ‘लोजिस्टिक सामान’हरु कस्ता कस्ता चाहिन्छ ? यी विवरणहरुको ‘रिहर्सल’हामीले गरिसक्यौँ । त्यसबाट आएको विवरणहरुको आधारमा धेरै कुराहरुलाई हामीले परिमार्जन पनि गरिसकेका छौं । समय व्यवस्थापनको आधारमा अब हामीले गणक र सुपरीवेक्षकहरुको भर्ना गर्नेछौं । किनभने एकजनाले एकदिनमा कति वटा भर्छ ? लगायतका विषयमा हामीलाई नमूना जनगणनाले सघाइसकेको छ । सघाउँदै पनि छ । जुन, हामीले गरिसक्यौँ । हामी अब तयारी अवस्थामा छौं ।

जनगणना तथ्यांक कि मिथ्यांक ?
हामीलाई कतिपय व्यक्ति तथा ठाउँबाट गणकहरु घर–घरमा पुग्दैनन्, चौतारीमा बसेर तथ्यांक भर्छन् भनेर आरोपहरु पनि लाग्ने गरेका छन् । केन्द्रीय तथ्यांक विभाग १०० वर्षदेखि अघिको तथ्यांकको इतिहासहरुको साक्षी हो । भलै विभाग त्यतिबेला स्थापना भएको थिएन होला तर, यसले त्योताकादेखिकै तथ्यांकहरुलाई सुरक्षित गरेको छ । यद्यपि पनि कहीँकतै कुनै किसिमको गल्ती भएका छैनन् भनेर मैले भन्न सक्दिनँ । तर, पहिलेजस्तो ठगेर फाराम भर्न अब सहज छैन । चौतारीमै बसेर फाराम भर्न, घरमा नपुगी नै फाराम भर्न अब चाहिँ सजिलो छैन । किनकी, हामीले चार जना गणक बराबर एक जना सुपरीवेक्षकको व्यवस्था गरेका छौं । जसले उहाँहरुको पिछा गरिरहनुहुनेछ । अनि ती सुपरीवेक्षकहरुलाई पिछा गर्नुको निम्ति इलाका जनगणना अधिकृतको व्यवस्थापन गरेका छौं । इलाका जनगणना अधिृकतहरुको पिछा जिल्ला जनगणना अधिकृतहरुले गर्नुहुनेछ । यसबाहेक प्रत्येक वडामा जननिर्वाचित वडाध्यक्षको एउटा अनुगमन समिति रहनेछ । त्यो अनुगमन समितिले चाहिँ आफ्नो वडाभित्र ती गणकहरु सम्बन्धित ठाउँमा पुगे/नपुगेको, प्रश्नहरु उत्तरदाताहरुसँग सोधे/नसोधेको, गलत विवरणहरु भरे/नभरेको अथवा उत्तरदातालाई उक्साहट गर्ने खालका क्रियाकलपाहरु गरेको हेर्नेछ । यसको लागि हामीले समिति गठन पनि गरिसकेका छौं । ती समितिहरु अझै क्रियाशील भइसकेका छैनन् । मैले अघि उल्लेख गरेका थिएँ । आगामी चैत्रदेखि हाम्रो कार्यालयहरु खुल्ने हो ।

बैशाखदेखि काम शुरु हुने हो । अनि गणना जेष्ठ २५ देखि असार ८ सम्म हुने हो । यी गणकहरु सक्रिय हुने भनेकै त्यो १५ दिनभित्र हो । अब यी सबै समितिहरुलाई हामीले सक्रिय बनाउनेछौं । यसबाहेक नागरिक समाजहरु, पत्रकारहरु तथा सचेत वर्गहरु उहाँहरु सबैको सहयोग भयो भने यसपालीको जनगणनामा चाहिँ यो आरोप हामीमाथि लाग्ने छैन । त्यसकारण यो तथ्यांक मिथ्यांक होइन कि,तथ्यांक नै भनेर हामी भन्न सक्छौं । यसरी हामी सबैका लागि राज्यका, अनुसन्धानदाताका लागि, विश्वविद्यालयका लागि सबैका लागि उपयोगी हुने तथ्यांक संकलन गर्छौं ।

जनगणनाबीच ‘कोभिड त्रास’
जनगणनामा हामीमाथि एउटा अर्को चुनौती छ । त्यो चुनौती भनेको कोभिड १९ हो । हामीले चैत्र भनेको नमूना जनगणना असारमा गरेजस्तै कोभिडको जोखिम अझै बढ्न गइ सरकारले देशव्यापी रुपमा बन्दाबन्दी गरेको खण्डमा त हामीले जनगणना गर्न सक्दैनौं । अवस्था यस्तै रहेको खण्डमा त हामीले जनगणना गर्न सक्छौं । तर, स्थिति भयावह भयो भने हामीले अहिले तय गरेका जुन क्यालेण्डहरु छन् त्यसलाई परिमार्जन गर्नुपर्ने हुन्छ । अहिलेको मुख्य चुनौती भनेको चाहिँ कोभिड १९ मात्रै हो । अन्यथा हामीले जनगणना मज्जाले गर्न सक्छौं । किनकी, हामीले तयारी राम्रै गरिरहेका छौं ।

प्रतिक्रिया