प्युठानमा गोरुमाथि क्रूर व्यवहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । जोत्दाजोत्दै थाकेर बसेको गोरुमाथि क्रूर व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्युठानका ३६ वर्षीय जालिराम थापा मगर रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय प्युठानले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको छ । हाल उनलाई जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना आफ्नो खेतबारीमा गोरु जोतिरहेको अवस्थामा भएको बताइएको छ । खेत जोत्ने क्रममा गोरु थाकेर बस्दा उनले गोरुको मुख माटोमा घिसार्दै क्रूर व्यवहार गरेको आरोप छ ।
प्रहरीले पशुपन्छीमाथि हुने दुर्व्यवहार कानुनअनुसार दण्डनीय अपराध भएकाले यस्ता घटनामा कडाइका साथ अनुसन्धान र कारबाही अघि बढाइने जनाएको छ ।








