स्वर्णिम युगका स्वर्णिम गीतहरू

संगीत एउटा कला हो । शब्द, आवाज र धुनको सम्मिश्रण । त्यहीँ सम्मिश्रणभित्रको भावले कहिले हँसाउन, कहिले रुवाउन, कहिले नचाउन त कहिले चिन्तन गर्न सक्ने क्षमता बोकेको हुन्छ । मीठा शब्द, सुर र संगीतले एक प्रकारको आनन्द र उर्जा दिने गर्छ ।

गीत, संगीतसँगको मेरो लगाव बाल्यकालदेखि नै थियो । त्यसबेला, हाम्रो देशमा रेडियो नेपाल मात्र थियो र त्यसैमार्फत प्रसारण भएका सबै प्रकारका गीतहरू सुन्थे । आज पनि सुनिरहेकी हुन्छु तर, आजकाल रेडियो नेपालमात्र छैन । धेरै एफएमहरू छन्, युट्युब छ । विभिन्न माध्यम छन् जहाँबाट मनपर्ने गीत सुन्न सहज छ ।

गीतमा भाव, मिठास, गायन शैली फरक हुन्छ । यो गीत राम्रो, त्यो गीत नराम्रो भन्दा पनि प्रस्तुति फरक हुन्छ जस्तो लाग्छ र त्यहीँ पृथकताले हामीमा फरक छाप छोडेको हुन्छ । कुनै गीतका शब्दले, कुनै गीतको धुनले, कुनै गीतमा कसैको गायनले मन छुन्छ । कुनै न कुनै रुपमा मनलाई छोएका र मनमा बसेका गीत सुनिरहँदा ती गीतहरू निरन्तर बजिरहुन् र म सुनिरहुँ जस्तो लाग्छ । स्वर्णिम युगका स्वर्णिम गीतहरू जुन सुन्दा पनि आनन्द लाग्छ ।

सानैदेखि हरेक प्रकारका गीत सुने पनि सबै गीतले लोभ्याउँदैन थियो । संगीतको विभिन्न विधामध्ये आधुनिक गीत, लोकगीत, राष्ट्रिय भावका गीतहरू अलि बढी रुचिका साथ सुन्न मन पराउँथे र पराउँछु । पुराना र कालजयी गीतहरुसँगको मेरो सानिध्यता उसै बखतदेखिको हो । त्यसबखतका लोकगीतका भाका, शब्द र शैलीमा मौलिकता र ठेट पारा पाइन्थ्यो । कोठाभित्र बसेर कल्पना गरेर होइन खोजेर ल्याएर गीत तयार गरिन्थ्यो एउटा अन्तरवार्तामा लोक गायक कुमार बस्नेतले भन्नुभएको थियो- उहाँहरूले लोकगीतको शब्द संकलन गर्न गाउँ पाखा,  डाँडा, भीर, खोला, शहर, बजार आदि ठाउँ हिड्नुपर्थ्यौ । अचेल बन्द कोठामा बसेर शब्द कोरिन्छ अझ चोरिन्छ र संकलनको नाम दिइन्छ । त्यहि भएर गीतसंगित क्षेत्रकै ब्यक्तिहरु ब्यंग्य गर्दै भन्ने गरेका छन्- ‘अहिले गीतकार भन्दा गीत सार अर्थात अर्काले लेखिसकेको गाइसकेको गीत सार्नेहरुके बिगबिगी छ ।’

लोकगीत कुनै पनि देशको पहिचान हो । विभिन्न जातजाति भाषाभाषी र रहसहन अनि संस्कृतीले भरिपूर्ण हाम्रोजस्तो देशमा त लोकपन र रैथाने पारा विशिष्ट पहिचानका रुपमा रहिबसेको छ । लोकगीतले यो इन्द्रधनुषी पहिचानलाई गीतका भाकामा, शब्दमा र बाजामा जोगाउने र फैलाउने काम गरिआएको छ । यसमा यो क्षेत्रका कलाकारको योगदान अतुलनीय र स्तुत्य छ ।
जनकवि केशरी धर्मराज थापा, पाण्डव सुनुवार, राम थापा, कुमार बस्नेत, प्रेमराजा महत, विष्णु माँझी, विमाकुमारी दुरा, पशुपति शर्मा, बद्री पंगेनीका गीतहरू अलि बढी सुन्छु ।

धर्मराज थापाका धेरै गीतहले मन मस्तिष्कमा छाप छोड्न सकेका छन् । उहाँको गीत बजिरहदाँ, उहाँको तस्विर आँखा अगाडि आउँछ भने शब्दहरूमा नेपालीपनको सुगन्ध आउँछ ।

आज मादल बजेको किन…
हरियो भन्नु…
साँहिली रिमै चौरीगाई…
हरियो डाँडामाथि….

अर्का सर्जक पाण्डव सुनुवारले बाशुदेव मुनाल, राम थापा, ज्ञानु राणा, हिरण्य भोजपुरेलगायतसँग गाएका वा संकलन गरेका गीतहरू अत्यधिक मन पर्छ ।

भिज्यो तिम्रो रातो पछ्यौरी….
झमझम इस्टकोट…..
तिम्रो घर चाँचरी….
केको छाना ए है ठूली….

कुमार बस्नेतका गीतहरू रमाइला र व्यंग्यात्मक लाग्छन् । कहिलेकाहीँ सुन्छु ।

लै बरि लै लै बरि लै….
लब्सीको गेडो चुसेर….
तिम्रो बाउलाई सलाम छ….

एक समय लोप हुने खतरामा रहेका लोकगीतले फेरि पुनर्जीवन पाएका हुन् । उदाहरणका लागि :-

सालको पात टपरी हुनी, नहुनी सल्लैको….

जब यो गीत आयो, तब हरेकको दिमागमा रहन गयो । हरेक ठाउँमा गुन्जिन थाल्यो । मनमनले गाए । न उमेर न भुगोल न अरु केही कतै कुनै बन्देज देखिएन भेटिएन । पछिल्लो समय चलचित्रमा पनि लोकलयलाई प्राथमिकतामा राखिएको देख्दा खुशी लाग्छ । यसैकारण पनि नेपाली चलचित्रका गीतहरु धेरै सुनिन थालेको छ । कुनै बिहे बटुलो वा भोजहरुमा उहिल्यै जस्तो हिन्दी गीत मात्र बजाएको पाउँदिन ।

कवि गीतकारले देश प्रेम शब्दमा उतार्छन् । ती जव जनमानसमा आउँछन् र जिब्रोमा झुन्डिन्छन् । सुन्दा शरीरमा तरंग उत्पन्न हुन्छ । यस्तै राष्ट्रिय भावले भरिपूर्ण गीतहरूमा एक हो ।

रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो
जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो….

गोपालप्रसाद रिमालले हाम्रो देशको झण्डाको बारेमा वर्णन गरेका छ । अम्बर गुरुङ र फत्तेमान राजभण्डारीको श्वर रहेको गीतमा संगीत अम्बर गुरुङको छ । नेपाली सेनाले यो गीतलाई सैनिक गीत भनी बजाउने गरेको छ । क्रिकेट खेलाडीले मैदानमा यहि गीत गाउँछन् । र भन्छन यो गीत गाउँदा देशप्रेमको भावले लछप्पै बनाउँछ । र राष्ट्रियता उम्लेर आउँछ ।
यस्तै,
लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरो….
गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली…

विद्यालयमा कविता भनेर पढिरहदाँ रेडियोमा राष्ट्रिय गीत भनेर गुन्जिन्थ्यो । याद गर्न सजिलो भयो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना जसमा देश, प्रकृतिको सुन्दर वर्णन गरिएको पाइन्छ ।

यो नेपाली शीर उचाली…..
मेरो भन्नु नै यहीँ देश हो…..
म भक्त हुँ यो देशको….
पश्चिम कोही पूर्व घर…
जहाँ छन् बुद्धका आँखा….
सय थरी बाजा ….
हिमालको छड्के टोपी छ….
नेपाली हामी रहौला कहाँ नेपालै नरहे…

विभिन्न जातजातीको आ-आफ्नै भाषा, आ-आफ्नै भेषभुषा, धर्म रहेको छ र हामीहरू सबै एउटै समाजमा वर्षौदेखि मिलिजुलि बस्दै आएका छौ । बुद्ध, सीता, भृकुटीको जन्मभूमि, सगरमाथाको वर्णन गर्दै सरल भाषा, मीठो धुन र गायन शैलीले पनि यी राष्ट्रिय गीतहरू प्राथमिकतामा पर्छन् । यस्ता धेरै गीतहरू सुनिरहदाँ देशप्रति माया, सम्मान अझ बढी जागेको हो की जस्तो लाग्छ ।

यस्तै अर्को गीत छ-
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ….

क्रान्तिकारी गीत जसले जनतामाझ शासकविरूद्ध जागरूकता ल्यायो । श्याम तमोटले यो गीतको सिर्जना धेरै वर्षअगाडि गरेता पनि देशमा सशस्त्र द्वन्द्व भएपछि धेरै घन्कियो । जब भाव बोकेको गीत रामेश श्रेष्ठको बुलन्द आवाजमा सुन्न पाइन्छ । चलचित्र बलिदानमा पनि समेटिएको यो गीत आजपनि कुनै शाषक र शासनसत्ताको विरुद्धको आन्दोलनमा सबैभन्दा पहिले मुखमा झुण्डिहाल्छ ।

आधुनिक गीतका शब्दहरू हृदयस्पर्शी हुन्छ । आज पनि ती गीतहरू निरन्तर बजिरहुन् र म सुनिरहुँ झै लाग्छ । हरेक गीतको मिठास बेग्लै हुन्छ । भाव बेग्लै, गायन शैली बेग्लै हुन्छ । यो गीत राम्रो, त्यो गीत नराम्रो भन्दा पनि प्रस्तुत गर्ने शैली बेग्लै हुन्छ जस्तो लाग्छ र त्यहीँ पृथकताले हामीमा बेग्लै छाप छोड्छ । कुनै गीतको शब्दले मन छुन्छ, कुनैको संगीतले त कसैको गायन शैलीले । तथापि, रोजाई आ-आफ्नै हुन्छन् । धेरै कालजयी गीतहरु यस्ता छन् कि जुन सुन्दा श्रोताले यो गीत त केवल मेरैलागि लेखिदिएको होला भन्ने अनुभूति गर्छ ।

“हो माझी दाई
हो माझी दाई हो
तारी नदेऊ हे माझी दाई
माइतीको पाप लाग्ला है
हो छाडी नदेऊ हे माझी दाई
मायालुको श्राप लाग्ला है….”

यो गीतमा दुलहीको मर्म छ । जीवनमा एक यस्तो समय पनि आउँछ जुन बेला चेलीले आफू जन्मेको, हुर्केको घर आँगन छोडेर कसैको घरलाई आफ्नो संसार सम्झेर जीवनभर श्रींगार्नु पर्ने दायित्व काँधमा हुन्छ । उसले माइतीको आँगन भुलेकी हुन्न तर आफ्नो कर्म गर्न पनि छोडेकी हुन्न ।

तिमी तिरमा उभिदेऊ, डुब्दैन मेरो नाउ
तिम्रो नगिच कहिले दुख्दैन मेरो घाउ

गुमनाम भएर रहेको हो गीत कहीँ कतै कसैले सुनाएको पनि थिएन, बजाएको पनि थिएन । उज्यालो रेडियो नेटवर्कमा जब यो गीत गुन्जियो, सुनिरहुँ लाग्यो । पहिले धुन, त्यसपछि शब्द र स्वरले छोएको मेरो मनलाई एक पटक सुनेर मात्र पुगेन । फेरि पनि बजाइदिन अनुरोध गरेँ । आजकाल बेलाबखत सुन्न पाइन्छ ।

“बिदा हुने भै गयो बेला
फेरी भेट होला कि नहोला…”

पूरा गीतमा प्रेमिल जोडीले भेटेर छुट्टिनुपर्ने अवस्थामा निस्किएका मीठा भावहरू पोखेता पनि मेरो मन मस्तिष्कमा भने पहिलो मुख्डा सुनिरहदाँ या गुन्गुनाईरहदाँ मिल्ने साथीसँगको बिछोडको सम्झनाले डेरा जमाउन थाल्छ । पुष्प नेपाली र तारा देवीको मीठो आवाजमा सुनिने यस गीतको गीतकार भोग्य प्रसाद शाह हुनुन्छ जसमा नातीकाजीले संगीत भर्ने काम गर्नु भएको छ ।

अरबौ मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे

म मन मिल्ने मान्छे भेट्दा संसार भुल्ने मान्छे….

वास्तविक जीवनसँग मेल खाने यो गीतका शब्दहरूले मन छुन्छ । एक्लै बसेर कति पटक आँखा चिम्लेर गीतमा हराउँदै गर्दा आँसु झरेको छ । पहिलो अन्तरा अझ बढी मार्मिक लाग्छ । कहिलेकाँही मेरै लागि लेखिएको हो कि जस्तो पनि लाग्छ । मानिसलाई तौलेर संगत गर्न नजान्नु, सहानुभूति देखाएर आफैले बालेको आशाको दियो निभाई दिनु कमजोरी हो ।

जीवनमा प्रोत्साहन गर्ने कोही हुन आवश्यक छ । कसैको शब्दहरू यति बिग्न प्रभावशाली हुन्छन् कि तिनले ढाढस दिएका हुन्छन्। कसैको प्रेरणादायी शब्दहरूले पनि केही गर्ने आँट आउँछ ।

जिन्दगीलाई जीत हैन हारले स्वीकार गरी….

जीवनमा खुसी मात्र हुने हो भने आँसुको के मोल ? जब कि मनको पीडा जतिसुकै भारी भए पनि आँखाबाट बहने आँसुले तन हलुंगो हुन्छ । सधै जीत्नै पर्छ भन्ने छैन, हारबाट पनि त केही सिकिन्छ ।

एक फूल झरेर के भो….

टुटेका, फूटेका मनलाई सान्त्वना दिने राममान श्रेष्ठका शब्दहरूले तारादेवीको आवाज र शिव शंकर मानन्धरको संगीतले उत्साह पनि प्रदान गर्छ । निराशाको बादल मनदेखि नयनसम्म लागेको बेला यो गीत सुनेपछि उघ्रेको आकाश जस्तै हुन्छ ।

शान्ती ठटाल, मेलवादेवी, दावा ग्याल्मो, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, अरुणा लामा, नारायणगोपाल, गोपाल योंञ्जनलगायत केही दिग्गज गायक गायिका हुनुहुन्छ जसका गीतहरूको भावमा हराइन्छ । नेपाली संगीत जगतमा हामीले नसुनेका कैयन गीतहरू छन् जुन सुनाइएका छैनन् र सुनाइएका भए पनि हामीले सुनेका छैनौ । स्वर्णिम युगका स्वर्णिम गीतहरू ।

प्रतिक्रिया