‘कम्युनिष्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृति देखियो’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृति देखापरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा सन्देश जारी गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन उनले अपील गरे । ‘कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ,’ अध्यक्ष प्रचण्डले सन्देशमा भनेका छन्, ‘ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको छ ।’
देशको आर्थिक विकास, समृद्धि र समाजवादउन्मुख संविधानको रक्षा, परिमार्जन तथा कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएको प्रचण्डको भनाइ छ । ‘सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ । देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरूको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो,’ उनको भनेका छन् ।








