तोडियो शीर्ष तहको संवादहीनता, एमालेमा सकारात्मक सन्देश

काठमाडौँ । सत्तारुढ एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएको छ । यसले राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ । सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको पुनःस्थापना तथा एमाले र माओवादीबीचको एकतालाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि चरम विवाद उत्पन‍न भएको थियो ।

माओवादी केन्द्रसँगको २०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्‍न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा नेता नेपाल र झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो । प्रधानमन्त्री ओलीविरुद्ध अविश्‍वासको प्रस्ताव आउन सक्ने र त्यसमा नेपाल पक्षका सांसदले मत दिन सक्ने अनुमानपछि अध्यक्ष ओली समूहप्रति कडा भएका थिए । दुवै पक्षबीच समूहगतरूपमा गत चैत २ गते पार्टीको कन्द्रीय कार्यालय धुम्रबाराहीमा छलफल भए पनि कुनै सहमति भएको थिएन ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिनको अघिल्लो दिन अध्यक्ष ओली र नेता नेपालबीच बुधबार साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भएको भेटवार्तापछि उनीहरूले त्यहाँ उपस्थित सञ्‍चारकर्मीसँग कुनै प्रतिक्रिया नदिए पनि दुवै प्रफुल्लित मुद्रामा बाहिरिएका थिए । उनीहरूबीच एकाएक भएको भेटवार्ताको नेपालले प्रतिक्रिया दिन मानेनन् । सुरक्षाकर्मीको घेराका कारण प्रधानमन्त्री ओली निस्कँदा पत्रकार उनी नजिक पुग्‍न सकेका थिएनन् ।

वार्तास्थलमा नेतासँगै उक्त होटेलबाट बाहिर निस्कनुभएका प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकार मोती दुगडले शीर्ष नेताहरूको संवाद हुनु सकारात्मक भएको उल्लेख गर्दै वार्तामा भएका विस्तृत विषयबारे भने अनभिज्ञता व्यक्त गरे । उनले भने, ‘मुलुकको विकास र परिवर्तनका लागि त्याग र संघर्ष गरेका दुवै ठूला नेताहरू राजनीतिको क्षेत्रमा परिपक्व भएकाले उनीहरू मिल्दा देश र जनतालाई लाभ हुन्छ । उहाँहरू प्रफुल्लित मुद्रामा बाहिरिनुभएको तपाईँहरूले पनि देख्नुभएको छ । यो सकारात्मक सङ्केत हो ।’

पार्टीविरोधी गतिविधि गरेको आरोपमा नेता नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीले छ महिनाका लागि निलम्बन गरेको थियो भने दुई दिनअघि उहाँहरूसहित २७ जना सङ्घीय सांसदलाई प्रतिनिधिसभा सदस्यका हैसियतमा थप स्पष्टीकरण सोधिएको थियो । एमालेका ह्वीपविपरीत ‘फ्लोर क्रस’ गरी कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्‍वासको मत दिने एमालेका प्रदेश सांसद प्रकाश ज्वालासहित पाँच जनालाई पनि स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरणको जवाफ तयार हुँदै गरेको अवस्थामा आज अध्यक्ष ओली र नेता नेपालबीच बेग्लाबेग्लै संवाद भएपछि पार्टीमा हुने सक्ने विभाजन रोकिनसक्ने र मुलुकले राजनीतिक स्थिरता पाउन सक्नेमा नेता–कार्यकर्ता र जनस्तरमा सकारात्मक सन्देश प्रवाह भएको हो । विवाद बढेपछि अध्यक्ष ओलीले नेपाल पक्षसँग समूहमा वार्ता नगर्ने तर व्यक्तिगत तहमा वार्ता गर्न भने आफू तयार रहेको जनाउँदै आएका थिए । नेता नेपालले आफू प्रधानमन्त्री ओलीको सरकारी निवासमा वार्ताका लागि नजाने र एक्कै वार्तामा नबस्‍ने अडान राख्दै आएका थिए ।

दुवै पक्षका दोस्रो तहका नेताले ‘जनताको बहुदलीय जनवाद’ को विचार र सूर्य चिह्नप्रतिको समान निष्ठा भएका नेता-कार्यकर्ताबीच व्यक्तिगत आवेगका आधारमा विभाजन हुन नहुने भएकाल वार्ताको पहल गर्दै आएका थिए । प्रधानमन्त्री ओलीसँग आजै एमालेका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले बालुवाटारमा भेटी अध्यक्ष ओलीले लचकताका साथ एकता बचाउन विशेष पहल लिनुपर्ने बताएका थिए  (प्रकाश सिलवाल/रासस)

प्रतिक्रिया