एकतापूर्वका कमिटी ब्युँताएर पार्टीलाई जोगाऔं : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन आग्रह गरेका छन् । अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले २७ सांसदसहित ३२ जना नेतालाई कारबाही गर्ने मनसायको स्पष्टीकरण सोधेपछि नेता विष्टले पार्टी एकतामा गम्भीर संकट पैदा भएको भन्दै एकतालाई जोगाउन आग्रह गरेका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै विष्टले भनेका छन्, ‘अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट संचालन गरेर नै एकता जोगाउन सकिन्छ । एउटा इमान्दार कार्यकर्ताका लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ । यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहनाबमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधिमार्फत् समाधान खोज्न म आग्रह गर्दछु ।’

विगत केही समययता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथि कारबाहीका घटनाहरु अघि बढाइएको र यस्ता कारबाहीका शृखंलाहरूले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको उनले दाबी गरेका छन् ।

प्रतिक्रिया