कुखुराको मासु अहिलेसम्मकै महँगो, भाउ प्रतिकिलो ४५० रुपैयाँसम्म

काठमाडौं । कुखुराको तयारी मासुको मूल्य अहिलेसम्मकै महँगो भएको छ । सोमबार कुखुराको मासुको उपभोक्ता मूल्य प्रतिकिलो ४ सय ५० रुपैयाँसम्म पुगेको छ । कुखुराको अभाव भएपछि मासुको मूल्य बढेको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए ।

‘सोमबारदेखि कोल्डस्टोरहरुबाट खुद्रा पसललाई बिक्री गर्ने होलसेल मूल्य नै प्रतिकिलो ४ सय ३० रुपैयाँ निर्धारण गरिएको छ, आइतबारसम्म ४ सय १५ रुपैयाँ थियो,’ अध्यक्ष बिसीले भने, ‘खुद्रा पसलेले प्रतिकिलो ४ सय ५० रुपैयाँसम्ममा उपभोक्तालाई बिक्री गर्न सक्छन् । यो इतिहासकै बढी मूल्य हो ।’

यसअघि २०७७ सालको सुरुमा कोल्डस्टोरहरुले खुद्रा पसलेहरुलाई कुखुराको मासु बिक्री गर्ने मूल्य ३ सय ९० रुपैयाँ पुगेको थियो । त्यस्तै, कोल्ड स्टोर तथा सप्लायर्सहरुले कुखुरापालक किसानलाई दिने जिउँदो कुखुराको मूल्य प्रतिकिलो ३ सय १० रुपैयाँ पुगेको छ ।

किन बढ्यो मूल्य ?
विदेशबाट ब्रिडिङका लागि ल्याउने गरिएको प्यारेन्ट चल्लाको आयात कम भएकाले चल्लाको उत्पादन घटाएको नेपाल पोल्ट्री महासंघका अध्यक्ष डा. गुणचन्द्र विष्टले बताए ।

‘सातामा ६ लाख चल्ला उत्पादन गर्ने मेरो उद्योगको पूर्ण क्षमता हो,’ अविनाश ह्याचरीका सञ्चालक समेत रहेका विष्टले भने, ‘अहिले १ लाख चल्ला पनि उत्पादन गर्न सकेको छैन । पूर्ण क्षमतामा उत्पादन गर्न नसक्दा चल्लाकै मूल्य बढेको छ ।’

साविकमा प्रतिगोता ६० देखि ६५ रुपैयाँसम्ममा पाइने चल्लाको मूल्य अहिले ९० देखि ९५ रुपैयाँसम्म पर्ने गरेको उनले बताए । ‘हामीलाई एउटा चल्लाको ६५ रुपैयाँभन्दा बढी चाहिँदैन,’ उनले भने, ‘तर कम उत्पादन हुँदा लागत नै उठ्दैन बाध्य भएर मूल्य बढाउनुपरेको छ ।’

त्यस्तै, पछिल्लो समय नेपालका पन्छीमा देखिएको रानीखेत जस्तै रोगका कारण धेरै ठाउँमा कुखुरा मरेकाले पनि उत्पादन कम भएको उनले बताए । ‘रानीखेत जस्तै रोग देखिएको छ, तर सरकारले नै पहिचान गर्न सकेको छैन,’ उनले भने, ‘किसानका खोरका खोर रित्तिएका छन् । यसरी कुखुराको आपूर्ति कम हुँदा पनि मूल्यमा चाप परेको छ ।’

पशु सेवा विभागको कुखुरा प्रवद्र्धन शाखाका प्रमुख डा. जगदिश पाण्डेले दानामा बढेको मूल्य पनि पनि कुखुराको मूल्यवृद्धिमा सहयोग गरेको बताउँछन् । ‘कुखुराको दानामा प्रयोग हुने भटमासको पिना ९८ प्रतिशत र मकै ८० प्रतिशत भारतलगायत तेश्रो मुलुकबाट ल्याउने गरिएको छ,’ उनले भने, ‘अहिले यी कच्चा पदार्थको मूल्य बढेकोले व्यवसायीले दानाको पनि मूल्य बढाएका छन् । यसको चाप पनि कुखुराको मूल्यमा परेको छ ।’

कालोबजारी र कार्टेलिङका कारण पनि मूल्य बढ्न सक्ने भएकोले यसबारे अनुगमन हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया