प्रदेश १ : गतिरोध नहट्दै प्रदेश सभाको सातौँ अधिवेशन अन्त्य हुँदै

विराटनगर । प्रदेश १ को प्रदेश सभाको सातौं तथा चालू हिँउदे अधिवेशन आज (आइतबार) बसेर अन्त्य हुने भएको छ । गत चैत २६ गतेदेखि विपक्षी दलहरुले अवरुद्ध भएको प्रदेश सभाको बैठक गतिरोध अन्त्य नहुँदै अधिवेशन नै अन्त्य हुन लागेको हो ।
गतिरोध अन्त्य गर्ने बारेमा सभामुख प्रदिपकुमार भण्डारी तथा मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक बसेर छलफल गर्दासमेत गतिरोध अन्त्य हुन सकेको थिएन ।
आइतबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई चालु अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।
मान्त्रिपरिषद्ले गरेको सिफारिसमा प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आइतबार राति १२ बजेबाट लागू हुनेगरी सातौं तथा हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख अधिकारीले हिउँदे अधिवेशन अन्त्य गरेको उल्लेख गरेका छन् ।
प्रदेश सभाको बैठक आइबार दिउँसो १ बजे बोलाइएको छ । आजको प्रदेश सभाको बैठकसँगै प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सातौँ तथा हिउँदे अधिवेशन अन्त्य हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूका बिचमा भएकव गतिरोधलाई निरुपण गर्दै अधिवेशन अन्त्य गर्नेबारेमा छलफल भएपनि कुनै निकास निस्कन नसकेपछि सरकारले हिउँदे अधिवेशनको अन्त्य गरेको श्रोतको दाबी छ ।









