ओटिटी प्ल्याटफर्ममा महँगोमा बिकेका हिन्दी चलचित्र

एजेन्सी । कार्तिक आर्यन चलचित्र ‘धमाका’मा देखिँदैछन् । यो चलचित्र हालसम्म भारतमा ओटिटी प्ल्याटफर्ममा बिक्नेमध्ये सबैभन्दा महँगो चलचित्र बनेको बताइएको छ । डिजिटल राइट्स नेटफ्लिक्सले १३५करोड भारतीय रुपैयाँमा चलचित्र खरिद गरेको हो । तुलनात्मक रुपमा यो चलचित्र लक्ष्मी र कुली नम्बर वानभन्दा महँगोमा बिक्री भएको हो ।
धमाकाभन्दा पहिला महँगोमा बिकेका चलचित्रको विषयमा आज हामी चर्चा गर्दैछौँ ।
२०२० मा डिज्नी हटस्टारमा स्ट्रिम भएको चलचित्र ‘लक्ष्मी’ दक्षिण भारतीय चलचित्र कन्चनाको हिन्दी रिमेक हो ।
यो चलचित्र धमाकाभन्दा पहिला सर्वाधिक महँगो १२५करोड भारतीय रुपैयाँमा बिकेको चलचित्र हो । रिलिज पश्चात् समेत यो चलचित्रले धेरै रेकर्ड तोडेको थियो । चलचित्रमा अक्षय कुमार, कियारा आडवाणी, शरद केलकरको मुख्य भूमिका रहेको छ ।
२०२१ मा रिलिज हुने चलचित्र ‘भुज : द प्राइड अफ इन्डिया’ को बिक्री डिजिटल प्ल्याटफर्ममा ११०करोड भारतीय रुपैयाँमा भएको छ । अजय देवगण, सोनाक्षी सिन्हा, नोरा फतेहीलगायतको मुख्य भूमिका रहेको चलचित्र डिज्नी प्लस हटस्टारमा देखाइँदैछ । यो चलचित्र एक्सन ड्रामा विधामा बनेको छ ।
चलचित्र ‘कुली नं वान’ ९० करोड रुपैयाँमा बिक्री गरिएको भारतीय सञ्चार माध्यममा उल्लेख छ । १९९५ मा प्रदर्शनमा आएको चलचित्र कुली नं वानको रिमेक गरेर यो चलचित्र निर्माण गरिएको हो । अमेजन प्राइमबाट रिलिज गरिएको चलचित्रमा वरुण धवन, सारा अलि खान, शिखा तलसानिया, राजपाल यादवलगायतको मुख्य भूमिका रहेको छ । चलचित्र डेभिड धवनले निर्देशन गरेका हुन् ।
२८ अक्टोबर २०२० मा रिलिज चलचित्र ‘सडक २’ को डिजिटल राइट्स ७० करोडमा बिक्री भएको थियो ।
चलचित्रले सुशान्त सिंह राजपूतको मृत्यु पश्चात् दर्शकको आक्रोश खेप्नु परेको थियो । यो चलचित्रको भिडियो मन नपराइएको भिडियोमध्ये विश्वकै तेस्रो स्थानमा परेको थियो । चलचित्रमा आलिया भट्ट, सञ्जय दत्त, आदित्य रोय कपुरलगायतको मुख्य भूमिका रहेको छ ।
२०२० मा रिलिज भएको चलचित्र ‘गुलाबो सिताबो’ पहिलो चलचित्र थियो‚ जुन चलचित्र घर बन्द हुनासाथ पहिलो पटक ओटिटीमा रिलिज भएको थियो । ६५ करोडमा बिक्री भएको चलचित्रको मुख्य भूमिकामा अमिताभ बच्चन र आयुष्मान् खुरानालाई प्रस्तुत गरिएको थियो । चलचित्रले दर्शकको सकारात्मक प्रतिक्रिया बटुलेको थियो ।








