कोरोना कर्फ्यूका कारण छायांकन रोकिएका बलिउड चलचित्र

एजेन्सी । भारतमा कोरोनाका कारण कर्फ्यू लागेको छ । यसको प्रत्यक्ष असर चल्तीका कलाकारको चलचित्रमा परेको छ । मुख्य त शाहरुख खानको पठान, सलमान खानको टाइगर ३, आलिया भट्टको डार्लिंग्स, अक्षय कुमारको राम सेतु, रक्षाबन्धनलगायत रहेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार पठान र टाइगर ३ अहिले सम्म प्रभावित नभई यसराज स्टुडियोमा छायांकन गरिरहेका थिए । यी दुई चलचित्रको ४०-४५ प्रतिशत छायांकन सकिएको छ । अहिले भने चलचित्रको छायांकन रोकिएको छ । यी दुवै ठूलो लगानीमा बन्ने चलचित्र हुन् । तर अहले रोकिँदा पनि चलचित्र निर्मातालाई घाटा भने छैन । यो दुवै चलचित्र निर्माताको आफ्नै सम्पत्तिमा छायांकन भइरहेको कारण देखिने गरी घाटा नभएको हो ।

अक्षय कुमारको ‘रक्षाबन्धन’ चलचित्र आगामी हप्ता छायांकनमा जाने तयारीमा थियो । यसका लागि मुम्बईमा ‘जिसिसी होटल एन्ड क्लब’ बुक गरिएको थियो । त्यस्तै प्रितिस नन्दी ‘फोर मोर सर्ट्स’ को तेस्रो सिजन छायांकनको क्रममा थियो । यी दुवै प्रोजेक्ट रोकिएका छन् ।

लभ रञ्जन, नुसरत भरुचा र सोहम शाहलाई लिएर एक वेब सिरिजको छायाङ्कनको योजनामा थिए । तर कोरोनाको कारण यो प्रोजेक्ट रोक्न पर्‍यो । ललित पण्डित ‘आई लभ लोकतन्त्र’ नामक छोटो चलचित्र छायांकन गर्दै थिए । यसलाई समेत कोरोनाले प्रत्यक्ष प्रभाव पारेको छ ।

कस्ट्युम डिजाइनर अरुण जे चौहानले आफ्नो क्षेत्रको काम पुरै ठप्प भएको बताएका छन् । बाहिर नगई पहिरन खरिद र तयार गर्न नसकिने भएकाले काम पूर्ण रूपमा रोकिएको हो । उनले पछिल्लो समय ‘शी’ का लागि काम गरिरहेका थिए । यो कामसमेत ठप्प हुँदा उनी फुर्सदिला बनेका छन् ।

आलिया भट्टको चलचित्र ‘डार्लिंग्स’ निर्देशकलाई कोरोना संक्रमण भएपश्चात् रोकिएको छ । कर्फ्यूले समेत यो चलचित्रलाई असर गरेको हो । मुम्बईमा छायांकन भइरहेको चलचित्र करण जौहरले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया