कांग्रेसका पूर्वमहामन्त्री सिंह सहभागी भएको कार्यक्रममै तोडफोड र नाराबाजी

खैरहनी । नेपाल विद्यार्थी संघ खैरहनीभित्र देखिएको विवाद सतहमा आएको छ । नेपाली कांग्रेस खैरहनी नगर समितिले बुधबार नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान-प्रदान एवं भित्तेपात्रो लोकार्पण कार्यक्रमा नै नाराबाजी र तोडफोड भएको हो ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रमुख अतिथि रहेको कार्यक्रममा नेविसंघको दुईवटा समिति गठन भएपछि पनि विवाद मिलाउन पार्टी नेतृत्वले कुनै पहल नगरेको भन्दै कांग्रेसका पूर्वमहामन्त्री सिंहकै अगाडि नेविसंघका कार्यकर्ताले तोडफोड गर्नुका साथै कालो झण्डा देखाएका थिए ।

आसन ग्रहण हुनासाथ कार्यक्रम हलभित्र प्रवेश गरेको युवाहरुको एक समूहले कार्यक्रम स्थलमा तोडफोड गर्नुका साथै कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ र नगर सभापति शशि खनियाँविरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुले नेविसंघ जिन्दावाद, गुटबन्दी बन्द गरलगायतका नारा लगाएका थिए । चैत १२ गते एकैदिन अमृत आचार्यको नेतृत्व र शेखर बस्नेत (सुरज) नेतृत्वको छुट्टाछुट्टै दुईवटा नगर समिति गठन भएको थियो ।

प्रतिक्रिया