सम्वादहीनता तोड्दै जसपा नेताहरु आन्तरिक छलफलमा, सहमति जुट्ने अपेक्षा

काठमाडौं । लामो समयको सम्वादहीनतालाई तोड्दै जनता समाजवादी पार्टी (जसपा)का नेताहरु छलफलमा जुटेका छन् । नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपा आइतवार (आज)बाट आन्तरिक छलफलमा जुटेको नेता केशव झाले मकालु खबरलाई जानकारी दिए । ‘पार्टीभित्र आजबाट छलफल शुरु भएको छ,’ नेता झाले भने, ‘आज शुरु मात्रै भएको छ । कुनै खाले निष्कर्ष भने निस्केको छैन ।’

आजको बैठक कस्तो भयो भन्ने प्रश्नमा नेता झाले सकारात्मक भएको बताए । ‘सहमतिमा त जानैपर्छ,’ शीर्ष नेताहरुलाई उद्धृत गर्दै नेता झाले भने, ‘सहमति जुट्ने अपेक्षा छ ।’

जसपाले यसअघि नै विभिन्न मागहरु अघि सार्दै जसले आफ्नो माग पूरा गर्छ उसैसँग सहकार्य गर्ने बताएको थियो । तर, उक्त मागमै पार्टीभित्र दुई धार देखिएपछि जसपा आन्तरिक छलफलमा जुटेको हो । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी ओलीसँग सत्ता सहकार्य नगर्ने अडानमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर र नेताहरु राजेन्द्र महतो, राजकिशोर यादवलगायत भने ओलीसँगको सहकार्यका लागि तयार छन् ।

जसपाले गत शुक्रवार मात्रै नेपाली कांग्रेस र माओवादी केन्द्रसँग छलफल गरिसकेको छ । कांग्रेसले बुढानीलकण्ठमा आयोजित तीन दलको बैठकमा आफ्नै नेतृत्वमा सरकार बनाउन प्रस्ताव राखेको थियो । कांग्रेसको उक्त प्रस्तावमा सहमत भएपनि जसपाले भने निर्णय लिइसकेको छैन ।

कांग्रेसको उक्त प्रस्तावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने अब चाँडै नयाँ सरकार आउने दाबी गरेका छन् । ‘तपाईँहरु भाग्यमानी हुनुहुन्छ,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘अब तपाईँहरुले चाँडै नयाँ सरकार पाउनुहुन्छ ।’

प्रतिक्रिया