शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव

काठमाडौँ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले नयाँ प्रजातिको कोरोना बढेको भन्दै विद्यालय कम्तीमा ३ साता बन्द गर्न प्रस्ताव गरेको छ ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा शनिबार बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको खण्डमा विद्यालय पुनः बन्द हुनेछ ।

यसअघि स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गरेर अनलाइन माध्यमबाट पठाउने गरी निर्णय गर्न सीसीएमसीमा सिफारिस गरेको थियो । सीसीएमसीको बैठकले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील पनि गरेको छ ।

सपिङ मल, रेस्टुरेन्ट, नाचघर, हिल्म हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।

रात्रिकालीन व्यावसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरी एउटा स्थानीय तहबाट अर्कोमा जरुरी काम नपरेसम्म आवागमन नगर्ने निर्णय समेत सीसीएमले गरेको छ । तर सरकारले अहिले नै पूर्ण रुपमा बन्द गर्ने वा नगर्ने निर्णय गरेको छैन ।

प्रतिक्रिया