नेपालमा गैंडाको संख्या बढेर ७५२ वटा पुग्यो

  • ध्रुवराज खनाल

चितवन । नेपालमा दुर्लभ एक सिंगे गैंडाको संख्या बढेको छ । चैत ९ गतेदेखि सुरु भएको गैंडा गणना शनिबार सकिएको छ । शनिबारनै गैंडाको तथ्यांक सार्वजनिक गरिएको हो । चितवनको सौराहामा आयोजित पत्रकार सम्मेलनमा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले गैंडाको तथ्यांक सार्वजनिक गरे ।

सार्वजनिक गणनाअनुसार नेपालमा १०७ वटा गैंडा वृद्धि भएको छ । अब गैंडाको कूल संख्या ७५२ पुगेको छ । सार्वजनिक तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा ,बर्दियामा ३८ वटा ,शुक्लाफाँटमा १७ वटा र पर्सा निकुञ्जमा ३ वटा गैंडा रहेका छन् ।

गैंडा नछुट्ने र नदोहोरिने गरि प्रविधी अपनाएर गणना गरिएको वन सचिव ओलीले बताए । गैंडा गणनाका लागि ४३ वटा हात्ती परिचालन गरिनुका साथै २५० जना व्यक्ती गणनामा सहभागी थिए । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैंडा थिए ।

तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटमा आठ र पर्सामा तीन गैंडा भेटिएका थिए । नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८ र १९९५ मा ४६६ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ हुँदै पछिल्लो गणना सन् २०१५ मा ६४५ पुगेको थियो ।

प्रतिक्रिया