ओली कम्युनिस्ट सक्ने अभियानमा छन् : नेपाल

विराटनगर । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले फुटाउने अभियानमा लागेको आरोप लगाएका छन् ।

कम्युनिस्ट पार्टीलाई एक गराउने अभियानमा आफू रहेको भएपनि केपी ओलीजस्ता नेता कम्युनिस्ट सिध्याउन लागेको आरोप लगाएका हुन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भइरहेको सुनाए ।

‘सबै कम्युनिस्टलाई मिलाएर जानुपर्छ भनेर मैले भन्दै आएको थिएँ,’ उनले भने, ‘ओलीजस्ता व्यक्तिहरू पार्टीलाई सक्ने दिशामा अघि सरे । यसको क्षति बिस्तारै देखिन्छ ।’ नेता नेपालले निर्वाचनले मात्र सबै विषयको निकास नदिने बताए ।

यसका साथै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान मिचेर कारबाही चलाएकाले त्यसको प्रतिरोधमा समानान्तर कमिटी गठन गर्न आफू जुटेको बताएका छन् ।

‘ओलीले विधानविपरीत गएर काम गरेका छन्,’ उनले भने, ‘विधान मिचेर काम गर्नेलाई पनि साथ दिनु भनेको उनको दास बन्नु हो ।’ दासहरुले मात्र विधानविपरीत काम गर्नेलाई पनि साथ, समर्थन दिने भन्दै उनले केपी ओलीको पक्षमा बहुमत नभएको समेत दाबी गरेका छन् ।

प्रतिक्रिया