एमाले प्रवेश गरेका चारै मन्त्रीको सांसद पद खारेज

काठमाडौं । नेकपा एमाले प्रवेश गरेका माओवादी केन्द्रका ४ जना मन्त्रीको सांसद पद खारेज भएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले दल त्यागी अन्य दलको गतिविधिमा सामेल भएको भन्दै उनीहरूको सांसद पद खारेज भएको सूचना पढेर सुनाएका हुन् ।

सांसद पद गुम्ने चार मन्त्रीहरूमा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साह रहेका छन् । उनीहरूले पद त्याग गरेको सूचना मंगलबार संसद् सचिवालयमा दर्ता गराएका थिए ।

सभामुख सापकोटाले केन्द्रको केन्द्रीय कार्यसमितिको निर्णयसमेत संलग्‍न गरेर दर्ता भएको उक्त सूचना पढेर सुनाएका थिए ।

अन्य राजनीतिक दलको गतिविधिमा संलग्‍न हुनुका साथै उक्त दलको केन्द्रीय सदस्यतासमेत स्वीकार गरिसकेकाले प्रत्यक्ष निर्वाचित चारै सांसदलाई माओवादी केन्द्रले हटाएको हो ।

प्रतिक्रिया