उद्योग-कलकारखाना केही समय बन्द गर्न विवेकशील साझाको आग्रह

काठमाडौं । विवेकशील साझा पार्टीले प्रदूषण नियन्त्रणका लागि सरकारले गम्भीर चासो र तत्परता नदेखाउनुले थप चिन्ता बढाएको बताएको छ ।

बुधबार पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गरी काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचीमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले गम्भीर चासो नदेखाएकोमा चिन्ता व्यक्त गरेका हुन्।

नेपालको संविधानले हरेक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरेको विज्ञप्तिमार्फत सरकारलाई स्मरण समेत गराए । ‘वर्षा र पश्चिमी वायुको गति हाम्रो अधीनमा नरहे पनि हालको प्रदूषणका प्रमुख कारक देशका अधिकांश स्थानमा लागेको डढेलो तथा धुवाँ-धुलो न्यूनीकरणमा तत्काल परिणाममुखी काम गर्नु अत्यन्त जरुरी छ’, उनले भनेका छन् ।

साथै पार्टीले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी सामुदायिक समूहहरूको समेत साथ लिएर सेना र प्रहरीलाई आवश्यक उपकरणसहित डढेलो नियन्त्रणमा अविलम्ब खटाउन आग्रह गरेको छ ।

‘डढेलो नियन्त्रणका लागि अन्य मुलुकले उपयोग गरिआएको हेलिकप्टरबाट रसायन छर्किने सहितका प्रविधिको उपयोगबारे पनि तत्काल तयारी अघि बढाउन हामी आह्वान गर्दछौँ’, प्रवक्ता पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी धुवाँ धुलो नियन्त्रणका लागि केही समय सवारी साधन संचालनमा जोरबिजोर प्रणाली लागू गर्ने, सम्भव भएसम्म घरबाट काम गर्न प्रेरित गर्ने, आवश्यक परे प्रदूषण गर्ने उद्योग कलकारखाना केही समय बन्द गर्ने लगायतका उपाय लगाउनु वाञ्छनीय हुनेछ ।’

अहिलेको समस्या वातावरणीय मात्रै नभई यसले जनस्वास्थ्यमाथि पनि ठुलो संकट ल्याउन सक्ने भएकाले न्यूनीकरणका लागि हरेक नागरिकले आफ्नो कर्तव्य निर्वाह गर्नु जरुरी रहेको पनि पार्टीले औंल्याएको छ ।

‘फोहोर तथा अन्य बस्तु नजलाउने, अत्यावश्यक नपरी घरबाट ननिस्कने र निस्कनै परे सकभर सार्वजनिक यातायात प्रयोग गर्ने, खुला स्थानमा धूम्रपान नगर्ने, डढेलो जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने जस्ता कार्य नागरिक स्तरबाट गरिनुपर्छ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया