जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

नेपाल विद्यार्थी संघले नेता जोशीको १२ औँ पुण्य तिथिका अवसरमा मंगलबार आयोजना गरेको श्रद्धाञ्जली सभामा नेताहरुले स्वर्गीय जोशीमा निष्ठा, निरन्तरता र इमान्दारी भएको बताएका हुन् ।

कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय जोशीको राजनीतिलाई दुई पाटोबाट हेर्नुपर्ने बताए । ‘नेता जोशीलाई विसं २०४६ सालको जनआन्दोलन पहिले र जनआन्दोलन पछाडि गरी दुई पाटोबाट अध्ययन गर्नुपर्छ’, उनले भने । पार्टीभित्रको विवाद समाधानमा सदैव लाग्ने नेता जोशी सबैको प्यारो नेता भएको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले स्वर्गीय जोशी विद्यार्थी आन्दोलनको अगुवा नेता भएको बताए । ‘जोशीको निधनले देश र कांग्रेसले एक असल नेता गुमायो,’ उनले भने । राजनीति गर्ने व्यक्तिले नवीन्द्रराजबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले जोशीको निधनले नेविसङ्घ र कांग्रेसलाई अतुलनीय क्षति पुगेको बताए । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले स्व जोशी अत्यन्त चतुर र शालीन नेता भएको बताए । कांग्रेसको सङ्गठन विस्तारमा जोशीको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमला पन्तले स्व जोशीले दुःखका बेला राजनीति गरेको बताए । नेता जोशी नेपाली राजनीतिको प्रेरणाको स्रोत भएको उनले बताए । कांग्रेस केन्द्रीय सदस्य एवं नेवि संघका पूर्वअध्यक्ष प्रदीप पौडेलले स्व जोशीको विचार र आदर्शले आफूलाई राजनीतिमा आउन प्रेरणा मिलेको उल्लेख गरे । नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्री दीपक भट्टराईलगायतले कांग्रेस र नेविसङ्घलाई बलियो बनाएमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका थिए ।

प्रतिक्रिया