ललितपुरको सदर चिडियाखानामा ल्याइयो नरभक्षी बाघ

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणनामा खटिएका व्यक्तिलाई आक्रमण गर्ने नरभक्षी बाघलाई ललितपुरस्थित सदर चिडियाखानामा ल्याइएको छ ।

निकुन्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको बाघलाई मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित केन्द्रीय सदर चिडियाखनामा ल्याएको हो । आइतबार गैँडा गणना गरी फर्कने क्रममा घाँस काट्दै गरेको अवस्थामा हात्तीसारका कर्मचारी ३४ वर्षीय पुलिसराम थारुको सोही बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

निकुञ्जका कर्मचारीलाई मारेपछि उक्त बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको थियो । १० वर्षको उक्त भाले बाघलाई बर्दियाबाट गाडीमा हालेर ललितपुर ल्याइएको हो । बर्दियाबाट ल्याइएको बाघलाई चिडियाखानामा राख्ने क्रममा आयोजित कार्यक्रममा बोल्दै वनमन्त्री प्रेमबहादुर आलेले जङ्गली जनावरको आक्रमणबाट हुने घटनाहरु दोहोरिन नदिनका लागि राष्ट्रिय निकुञ्जहरुमा पर्खाल लगाउने अथवा विद्युतीय तारबार गर्नुपर्ने बताए ।

त्यसका लागि आफूले अर्थमन्त्रीसँग बजेट विनियोजन गर्ने विषयमा कुराकानी गरेको पनि स्पष्ट पारे । बर्दिया राष्ट्रिय निकुञ्जको छेउमै बस्ती भएकाले त्यहाँ करिब १० किलोमिटर आरसीसी पर्खाल लगाउन आवश्यक देखिएको उनले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र र खाता जैविक मार्ग वरपर केही महिना यता सिलसिलाबद्ध रुपमा बाघले मानिसमाथि आक्रमण गरिरहेको छ । यसै आर्थिक वर्षमा मात्रै १० जना मानिसको मृत्यु बाघको आक्रमणबाट भएको छ । जसमध्ये ३ वटा निकुञ्जभित्र, ५ वटा जैविक मार्ग क्षेत्रमा र २ वटा मध्यावर्ती क्षेत्रको जङ्गलमा घटना घटेको राष्ट्रिय निकुञ्ज तथा वन्यजुन्तु संरक्षण विभागले जनाएको छ । बर्दिया निकुञ्जले अहिलेसम्म ४ वटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया