कालोपत्रका लागि तयार भयो गलेश्वर-बेगखोला सडक

काठमाडौं । बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वर-बेगखोला खण्डको सडक कालोपत्रका लागि तयार भएको छ ।

उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ राहुघाटबाट वडा नं १ बेगखोला जोड्ने सडक कालोपत्र हुन लागेको हो ।

आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले कालोपत्र गर्न पूर्वाधार तयार पारेको जनाएको छ ।

निर्माण कम्पनीका सञ्चालक अमृत दाहालले सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर कालोपत्रका लागि सबबेस बिछ्याउने र रोलरले पेल्ने काम भइरहेको जानकारी दिए ।

‘सात किलोमिटर दूरीको राहुघाट–बेगखोला खण्डको सडक ११ मिटर फराकिलो बनाएका छौँ,’ उनले भने, ‘अधिकांश ठाउँमा पर्खाल र नाली निर्माण सकिएको छ । नाली र पर्खाल निर्माण भएको ठाउँमा गिट्टी, बालुवा बिछ्याएर रोलरले पेलिएको छ ।’

आगामी वैशाख–जेठ महिनाभित्रै कालोपत्र सक्ने गरी मजदुर, उपकरण परिचालन र निर्माण सामग्री तयार पारिएको छ । सात मिटर चौडाइमा डिबिएसटी प्रविधिको कालोपत्र गरिने भएको छ ।

मुख्य ठेकेदार शर्मा–युनाइटेडले अधुरो बनाएको सो सडक २०७६ माघदेखि ओमकारेश्वरले जिम्मा लिएपछि कामले तीव्रता पाएको हो । राहुघाट–बेगखोला खण्डको करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

विसं २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चारवटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । करिब ६ अर्ब लागतको यस आयोजनाको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८५ र बेनी–जोमसोम खण्डको ६० प्रतिशत भौतिक प्रगति छ ।

सात प्याकेजको जोमसोम–कोरला खण्डको चारवटा प्याकेजको काम निर्माण सकिएको आयोेजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बताए ।

आयोजनाअन्तर्गतकै बेनी नगरपालिका–९ गलेश्वरको करिब एक किलोमिटर सडक पनि कालोपत्रका लागि पूर्वाधार तयार पार्ने काम भइरहेको छ ।

गलेश्वर, महभिर र पोखरेबगरको बेलीब्रिज विस्थापित गरेर पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

बेनी–जोमसोमको चार प्याकेज (भाग)मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । तीन अर्ब ४० करोड लागत अनुमान गरिएको थियो ।

बेनी–घाँसा खण्डका दुईवटा प्याकेज र घाँसा–जोमसोम खण्डको एउटा प्याकेजको ठेक्का शर्मा/युनाइटेड जेभीले लिएको थियो ।

घाँसा–जोमसोम खण्डको अर्को एउटा प्याकेजको काम गर्ने ठेक्का पप्पु/तामाङ/कोशी/न्यौपाने जेभीले लिएको छ । बेनी-घाँसा खण्डमा डिबीएसडी र घाँसा-जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्र गरिने भएको छ ।

विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खालेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक हाल कच्ची अवस्थामा थियो ।

विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलासुस्तीले काम प्रभावित भएको हो ।

यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थल विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।

कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया