प्रदेश १ : मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

विराटनगर । प्रदेश–१ प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ । सोमबार भएको प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधनको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

अविश्वासको प्रस्तावको समर्थक एवं नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारप्रतिको अविश्वासको प्रस्ताव फिर्ता लिए पनि राजनीतिक क्रान्तिको अध्याय समाप्त नभएको बताए । अविश्वासको प्रस्तावको समर्थकको तर्फबाट राजेन्द्रकुमार राईले नयाँ राजनीतिक स्थिति परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिए ।

प्रस्तावक र समर्थक दुवै जनाले सरकारले अहिलेसम्म प्रदेशको नामकरण गर्न नसकेको, बजेट पारित भएसँगै खर्च कटौती गरेको, नयाँ योजना नल्याएको र पुरानै योजनाको भुक्तानी गर्न नसकेकोप्रति सरकारको आलोचना गरे ।

सदनमा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार काम गर्न नसकेको भन्दै सांसद कोष रकम कुनै पनि हालतमा काट्न नहुने बताए । उनले सरकारलाई खर्चमा मितव्ययिता अपनाउन र जनताप्रति उत्तरदायी बन्नुपर्ने भन्दै ‘जुँगा चल्यो, कुरा बुझ्यो’ मानसिकतालाई सरकारले त्याग्नुपर्नेमा जोड दिए ।

संघीय समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार संघीय सरकारमा निर्भर रहेकाले संघीय राजनीतिको आधारमा प्रदेश संसद्लाई बन्धक बनाउन नहुने तर्क गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले सरकार जनताप्रति उतरदायी नरहेको भन्दै सरकारमा सहमतीय प्रणाली लागू हुनुपर्ने धारणा राखेका छन् ।

प्रदेशसभा सदस्य प्रतापप्रकाश हंगामाले सरकारले विकास र निकासको काम गर्न नसकेको भन्दै संसद् कोष अविलम्ब व्यवस्था गर्न मागसमेत गरेका छन् । अर्का सदस्य लीला सुब्बाले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै डँडेलोमा परी समस्यामा परेका जनतालाई राहत वितरण गर्नुपर्ने माग गरे ।

सदस्य सञ्जाकुमार दनुवारले तीन वर्ष पूरा गर्न लागेको प्रदेश सरकारले अहिलेसम्म प्रदेशको नामकरण गर्न नसक्दा दुःख लागेको बताए । प्रदेशसभाको अर्को बैठक यही चैत २६ गते २:०० बजे बस्ने सभामुख भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया