समर्थन फिर्ता लेउ, राजीनामा आउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन चुनौती दिएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा १६५ सडक सञ्जालको शुभारम्भको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन् ।

‘काठमाडौंमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन् । राजीनामा त माग्यामाग्यै छन् त । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न ।’

यस्तै फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले सरकारले विकास निर्माणका कार्यमा विशेष ध्यान दिइरहेको बताए । ‘सरकारको ध्यान विकास र समृद्धिमा हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘र, अहिलेको सरकारको ध्यान पनि त्यही कुरमा छ र हुनुपर्दछ ।’

प्रतिक्रिया