केपी ओली गुटपरस्त : सुरेन्द्र पाण्डे

काठमाडौं । पार्टीबाट ६ महिनाका लागि निलम्बनमा परेका नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई गुटपरस्त मानिसको संज्ञा दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा आफूमाथि गरिएको कारबाहीप्रति प्रतिक्रिया जनाउँदै नेता पाण्डेले भने‚ ‘यो कदम पूर्व नियोजित र अपेक्षित नै थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली लामो कालदेखि गुटपरस्त मानिस हो।’

अध्यक्ष ओलीलाई गुटबन्दी गर्दैगर्दै नवौँ महाधिवेशनमा पार्टी कब्जा गरेको आरोप लगाउँदै नेता पाण्डेले आफूमाथि गरिएको निलम्बन गुटद्वारा कब्जा गर्दै पार्टीका मानिस निकाल्ने, गुटद्वारा शासन गर्ने सिलसिलाकै जारी रूप भएको बताएका छन् ।

यस्तो कार्यले कम्युनिस्ट आन्दोलनलाई नै नोक्सान गर्ने भन्दै उनले भनेका छन्‚ ‘यसले आन्दोलनलाई नोक्सानी गर्छ नै। एमाले र मुलुकको कम्युनिस्ट आन्दोलन नै समाप्त गर्ने दिशातिर लाग्नु भएको छ । हामी कम्युनिस्ट आन्दोलनको झण्डालाई झुक्न दिँदैनौँ । यसलाई अघि बढाउने कुरामा कुनै कसर बाँकी राख्दैनौँ।’

पाण्डेले चुनावका बेला घोषणा पत्रमार्फत गरिएका बाचाहरू पुरा गर्न थप जुझारू बन्ने बताएका छन् ।

प्रतिक्रिया