अखिल क्रान्तिकारीद्वारा स्ववियू निर्वाचन यथाशीघ्र गराउन माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले स्ववियू निर्वाचनको ठोस र मूर्त कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।

बिहीबार अखिल क्रान्तिकारीले स्ववियू निर्वाचन सञ्चालन गर्नेसहितका माग राखी त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बस्कोटालाई १८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

राजनीतिक भागबण्डा खारेज हुनुपर्ने, लामो समयदेखि हुन नसकेको स्ववियू निर्वाचन यथाशीघ्र गर्नुपर्नेलगायतका माग राख्दै ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ, उपाध्यक्ष दिपक देवकोटा, महासचिव उत्तम अधिकारीसहितका केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

ज्ञापनपत्र बुझाउनुअघि अखिल क्रान्तिकारी समर्थित विद्यार्थीहरूले उपकुलपतिको कार्यालय प्राङ्गणमा विभिन्न माग राखी नारासमेत लगाएका थिए ।

अखिलले कोभिडको समयको शुल्क मिनाहा हुनुपर्ने, स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक हुनुपर्ने, विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य हुनुपर्ने, सबै विद्यार्थीको स्वास्थ्य बीमा अनिवार्य हुनुपर्नेलगायतका मागहरू राखेको छ ।

प्रतिक्रिया