दूरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरुको अन्त्य हुन्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरुको अन्त्य गरिने बताएका छन् । बिहीबार मन्त्रालयले आयोजना गरेको दूरसञ्चार सेवाको पहँुच, प्रवाह तथा गुणस्तरसम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले दूरसञ्चार सेवासम्बन्धी समस्याहरुको समाधान गर्दै गुनासाहरुको अन्त्य गरिने बताएका हुन् ।

आफ्नो क्षेत्रमा टावर नपुगेको, इन्टरनेट सेवा नपुगेकोलगायतका समस्याहरु बोकेर सांसदहरु नै मन्त्रालय धाइरहनुपर्ने अवस्था रहेको भन्दै मन्त्री गुरुङले त्यस्ता समस्याहरु सधैंका लागि अन्त्य गरिने बताए । गुनासो समाधानका लागि दूरसञ्चारसम्बन्धी सबै सरोकारवाला एकै ठाउँमा बसेर समीक्षा गर्नुपर्ने पनि मन्त्री गुरुङले बताए । उनले भने– ‘जनताबाट प्रत्यक्ष निर्वाचित माननीयज्यूहरुको नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, सञ्चार मन्त्रालय, सेवा प्रदायकहरु र प्राविधिकहरु सबैले संयुक्त बसेर समीक्ष गरौँ । सेवा त पुगेको छ । हामीले काम त गरेका छौँ । हाम्रा बजेटहरु पनि कार्यान्वयन भएको छ । तर त्यो कामले जनताकोबीचमा, प्रत्यक्ष सेवा प्रदायककाबीचमा त्यो सेवा पुगेको हो कि होइन, सेवा गुणस्तर छ कि छैन यसको प्रत्यक्ष सार्वजनिक रुपमा समिक्षा गरेर सार्वजनिक सुनुवाई पनि गरौँ । माननियज्यूहरुले बेला बेलामा यो गाउँमा टावर पुगेन, यहाँ हाम्रो इन्टरनेट सेवा पुगेन र हामीलाई दूरसञ्चार सेवाको गुणस्तर भएन भन्ने माननीयज्यूहरुको गुनासो पनि रहिरहने । यो गुनासो निरन्तर भइराख्ने, माननीयज्यूहरु जहिलेपनि गुनासो बोकेर मन्त्रालयमा धाइरहनुपर्ने यस्तो परिस्थितिको अन्त्य पनि गरौँ ।’

मन्त्री गुरुङले टावर निर्माणको लागि ठेक्का भएर पनि काम हुन नसकेको ठाउँको समीक्षा गर्ने बताए । टावर बनाउनुपर्ने आवश्यकता रहेको ठाउँमा टावर स्थापनाको लागि योजना बनाउने पनि बताए ।

प्रतिक्रिया