सरकारको समर्थनबारे स्पष्ट हुन कांग्रेस र जसपालाई माओवादीको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)लाई सरकारलाई दिएको समर्थनबारे स्पष्ट हुन आग्रह गरेको छ । बिहीबार पेरिसडाँडामा बसेको बैठकले कांग्रेस र जसपालाई केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा स्पष्ट हुन आग्रह गरेको हो ।

केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार ती दुई दलले निर्णय गरेपछि राजनीतिले नयाँ मोड लिने बताउँदै भने, ‘यो सरकारलाई हाम्रो समर्थन छैन । प्राविधिक रूपमा चिठी दिनमात्रै बाँकी हो । उहाँहरूले ओली सरकारलाई नै समर्थन गर्ने भए पनि ठिक छ । हामी मिलेर नयाँ सरकार बनाउने भए पनि झन् राम्रो । तर, उहाँहरू छिटो स्पष्ट हुनुपर्यो ।’
श्रेष्ठटले आजको बैठकमा राजनीतिक घटनाक्रमबारे विभिन्न दलहरूसँग भइरहेको छलफलबारे कुराकानी भएको र अहिले परिस्थिति अझै स्पष्ट भइनसकेको विषयमा छलफल भएको बताए । ‘केही दिनमै स्थायी कमिटीको औपचारिक बैठक बसेर हामीले आवश्यक निर्णय गर्छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘स्थगित केन्द्रीय समिति बैठक र राष्ट्रिय भेला छिटै गर्ने विषयमा पनि छलफल भयो ।’

आजको बैठकमा आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेमा पनि छलफल भएको नेता लीलामणि पोखरेलले मकालु खबरलाई जानकारी दिए । ‘छलफल चाहिँ भएको हो,’ नेता पोखरेलले भने, ‘तर, निष्कर्षमा पुगेनौँ ।’

प्रतिक्रिया