‘मेलम्चीको जस अहिलेको सरकारले मात्रै लिन मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको जस अहिलेको सरकार आफैँले मात्रै लिन नमिल्ने बताएका छन् ।

बुधबारको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् । ‘३० वर्षदेखि सन्त नेता कृष्णप्रसाद भट्टराईले देखेको सपना पूरा भयो,’ सांसद केसीले भने, ‘यसको जस अहिलेको सरकारले आफैँले मात्रै लिन मिल्दैन । काकाकुल अवस्थाबाट कसरी काठमाडौंबासीलाई खानेपानी उपलब्ध गराउन सकिन्छ भनेर ३० वर्षअघि उहाँले सपना देख्नुभयो । अहिले पानी आयो, यो सबैका लागि खुसीको कुरा हो ।’

जस कसले लिने भन्ने ठूलो कुरा नभइ काठमाडौंमा पानी आउनु ठूलो कुरा भएको भन्दै सांसद केसीले भनेका छन्, ‘३० वर्षदेखि गरेको काम अहिले मैले गरेँ भनेर हुंकार गर्नु कत्तिको न्यायोचित हुन्छ ?’

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं ल्याइ वितरण गर्ने योजनास्वरुप गत चैत १५ गतेदेखि परीक्षणका रुपमा पानी वितरण शुरु गरिएको छ ।

प्रतिक्रिया