मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

काठमाडौं । विपक्षी एमालेले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएको छ । एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश सभा सांसद अष्टलक्ष्मी शाक्यले मकालु खबरलाई दिएको जानकारीअनुसार एमालेले मंगलबार अविश्वास प्रस्ताव फिर्ता लिएको हो ।

प्रस्ताव राखिरहन औचित्य नरहेपछि आफूहरुले फिर्ता लिएको शाक्यले बताइन् । ‘हामी आफू कमजोर देखिएर फिर्ता गरेका होइनौँ,’ शाक्यले भनिन्, ‘हामीले पहिले पूर्वमाओवादीसँग मिलेर दर्ता गराएका थियौँ । तर, पछि अदालतले छुटाइदियो । त्यसपछि त्यसलाई त्यसरी नै राखिरहन पनि औचित्य देखेनौँ । अनि फिर्ता लिएका हौँ ।’

गत पुस १० गते नेकपा माओवादी केन्द्र र विपक्षी एमाले (खनाल–नेपाल) समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।

यसैबीच प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि फिर्ता भएको छ ।

प्रतिक्रिया